नयाँ शक्ति तासको महलजस्तै ढल्छ- महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गरेका छन् । उनले विचार र सिद्धान्तबिनाको एकता लामो समय नटिक्ने ठोकुवा गरे ।
नयाँ शक्तिहरू रवि–बालेन्द्र बीचको आन्तरिक द्वन्द्वलाई संकेत गर्दै पोखरेलले विचार नमिल्नेहरूबीच स्वार्थको टकराव आउनासाथ विग्रह हुने बताए।

उनले नयाँ भनिएकाहरूले लोकतन्त्रका स्पेसहरू खुम्च्याउन खोजेको, विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रहार गरेको भन्दै त्यसको आलोचना गरे।

उनले भने, ‘रवि लामिछानेलाई जेलको झोला बोकाउने बालेनको अभियान थियो, तर चुनावमा स्वार्थका लागि मिले । जहाँ विचार मिल्दैन, त्यहाँ स्वार्थको टकराब सुरु हुनासाथ विग्रह आउँछ । जुन शक्ति जति तीव्रताका साथ उदाउँछ, त्यसको पतन पनि उति नै छिटो हुन्छ । पपुलिज्मले जनताका समस्या समाधान गर्दैन, केवल भ्रम छर्छ ।’
उनले एमाले अधिनायकवाद र स्वेच्छाचारी शासनविरूद्ध चट्टान बनेर उभिने स्पष्ट पारे।

संसदमा एमालेको संख्या कम भए पनि भूमिका ‘निर्णायक र आक्रामक’ हुने उनले बताए।
उनले मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउन आलटाल गरेकोप्रति आपत्ति जनाए । एमालेका नेताहरू जुनसुकै अग्निपरीक्षा दिन तयार रहेको बताउँदै उनले नयाँ तयार छन् की छैनन् भन्दै प्रश्न गरे ।

कार्की आयोगलाई ’प्रतिशोधको हतियार’ बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दुःख दिने काम भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने चेतावनी दिए ।