कांग्रेसमा दलको नेता छान्ने सकस

नेपाली कांग्रेस संसदीय दल विधान सांसदहरूको छलफलबाट पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाएसँगै संसदीय दल नेता चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेको छ।

सहमहामन्त्रीसमेत रहेका निर्वाचन समिति संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार संसदीय दल नेता चयन गर्न निर्वाचन कार्यतालिकाअनुसार बिहीबारदेखि प्रक्रिया अघि बढेको हो।
प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी कांग्रेसले ३८ सिट जितेको थियो।

संसदीय दल नेताका लागि पूर्वसहमहामन्त्रीहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्य दाबेदार छन्।

पार्टीले सांसदहरूसँग यस विषयमा छलफल गर्न महामन्त्री प्रदीप पौडेल लगायतलाई जिम्मेवारी दिएको छ।
शुक्रबार बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको मनोनयन हुनेछ। आज मतदाताको अन्तिम नामावली प्रकाशन भइसकेको छ।

कांग्रेसभित्र प्रत्यक्षतर्फबाट आएकालाई संसदीय दल नेता बनाउन पनि कतिपय सांसदहरूले माग गरेका छन्। केसी र आङ्देम्बे समानुपातिकतर्फबाट प्रतिनिधि सभा सांसद भएका हुन्।