यस्तो हुनेछ फिफाको नयाँ क्लब विश्वकप

एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसै वर्षदेखि नयाँ ढंगले सुरु गर्न लागेको फिफा क्लब विश्वकप शनिबार सुरु हुँदैछ । अमेरिकामा हुने प्रतियोगिताको पहिलो खेल नेपालमा भने स्थानीय समयअनुसार आइतबार विहान ५:४५ बजे सुरु हुनेछ । उद्घाटन खेलमा अल अहली र इन्टर मायमी खेल्नेछन् ।

सन् २००० देखि फिफाले हरेक वर्ष महादेशीय क्लब प्रतियोगिताको विजेतालाई समेटेर क्लब विश्वकप आयोजना गर्दै आएको थियो । तर यसपटकदेखि भने नयाँ संरचनामा क्लब विश्वकप हुँदैछ । प्रतियोगितामा विश्वभरका उत्कृष्ट ३२ टोलीले प्रतिस्पर्धा गर्दैछन् । ८ समूहमा टोली विभाजन गरेपछि हरेक समूहका शीर्ष २ टोलीले नकआउट चरण खेल्दै फाइनलसम्म पुग्नेछन् ।

फिफाले विश्व फुटबलमा बलियो मानिएको युइएफएलाई १२ र दक्षिण अमेरिकाको कन्मेबललाई ६ स्थान दिएको छ । त्यस्तै ओसेनिया क्षेत्रबाट मात्र १ क्लबले विश्वकपमा स्थान बनाउने प्रावधान रहेको छ । एसिया, अफ्रिका र कन्काकाफबाट ४-४ टोलीले प्रतिस्पर्धा गर्दैछन् । आयोजक राष्ट्र अमेरिकाबाट नियमित एमएलएस सिजनको विजेता इन्टर मायमीले पनि प्रतिस्पर्धा गर्ने अवसर पाएको छ ।

छनोटका दौरान मेक्सिकोबाट विश्वकपका लागि योग्य रहेका दुई टोलीको एकै मालिक रहेपछि फिफाले क्लब लिओनलाई भने सहभागिता जनाउन दिएन । लास एन्जेलस एफसीले लिओनको स्थानमा क्लब विश्वकप खेल्दैछ ।

फिफाले हरेक देशबाट अधिकतम २ टोलीले मात्र क्लब विश्वकपमा छनोट हुने प्रावधान राखेको छ । तर महादेशीय प्रतियोगिताको विजेता नै बनेको अवस्थामा भने २ भन्दा बढीले सहभागिता जनाउन पाउनेछन् । उपाधि विजेताबाहेक टोलीको छनोट भने वरीयताका आधारमा हुनेछ ।

उदाहरणका लागि बार्सिलोनाले यसपटक क्लब विश्वकप खेल्नेछैन । स्पेनबाट रियल म्याड्रिड २०२१-२२ सिजनको च्याम्पियन्स लिगको विजेताको रुपमा र एटलेटिको यूएईएफए वरीयताको छैटौं उत्कृष्ट टोलीको स्थानमा रहेर विश्वकप खेल्दैछ ।