काठमाडौं । बागमती प्रदेशकी अनिशा थारुले १५ औं केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदअन्तर्गत एथलेटिक्सको छात्रा ट्रिपलजम्पमा शुक्रबार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अनिशाले ११.२७ मिटर जम्प गर्दै कीर्तिमानी स्वर्ण जितिन् । अनिशाले २०६४ सालमा केशरी चौधरीले बनाएको १०.८० मिटरको कीर्तिमान भंग गरेकी हुन् । लुम्बिनीकी पिन्जु चौधरी दोश्रो तथा कर्णालीकी सरिता शाही तेश्रो भए ।
शुक्रबार छात्रा ट्रिपलजम्पसहित छात्र-छात्राको ४ गुणा १ सय मिटर रिलेमा गरी ३ कीर्तिमान बने । छात्र ४ गुणा १ सय मिटर रिलेमा बागमतीका प्रवीण राना मगर, सन्त दराई, सुविन लामा र निरज शाहको बागमती टोलीले निर्धारित दूरी ४३.४ सेकेन्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण हात पारे ।
बागमती टोलीले २०८० सालमा सुजल, सुदीप थारु, तुल्सीराम चौधरी र रोहित गुप्ता सम्मिलित लुम्बिनी टोलीको ४४.०० सेकेन्डको कीर्तिमान तोडेका हुन् । गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो बने ।
सो स्पर्धाको छात्रामा बागमतीका दिना गोपाली, अनिशा थारु, भगवती खड्का र सुरुची मोक्तानले निर्धारित दूरी तय गर्न ५१.९ सेकेन्ड खर्चदै कीर्तिमान स्थापित गरे । लुम्बिनीका निशा चौधरी, रेसु थारु, रामकुमारी थारु र सम्झना थारुको नाममा ५४।२ सेकेन्डको कीर्तिमान थियो । लुम्बिनी टोलीले २०७९ सालमा उक्त कीर्तिमान बनाएका थिए । गण्डकी दोश्रो र सुदूरपश्चिम तेश्रो स्थानमा रहे ।
तीनदिने एथलेटिक्समा जम्मा ९ कीर्तिमान बने । यसअघि छात्र १ सय मिटर दौडमा बागमतीका प्रवीण राना मगर ९१०.७६ सेकेन्ड, छात्रा ४ सय मिटर दौडमा सुदूरपश्चिमकी संगीता विक ९१ मिनेट ०१.१९ सेकेन्ड, छात्रा ८ सय मिटर दौडमा गण्डकीकी नारायणी भण्डारी ९२ मिनेट १७.९ सेकेन्ड र छात्र ज्याभ्लिन थ्रोमा लुम्बिनीका राहुल थारु ९५७.४० मिटर ले कीर्तिमान स्थापित गरेका थिए ।
त्यस्तै, छात्र-छात्राको बागमती टोलीले ४ गुणा ४ सय मिटर रिलेमा पनि कीर्तिमान कायम गरे । छात्रमा प्रवीण राना मगर, निरज शाह, हस्त सुनार र सन्तबहादुर दराई तथा छात्रामा दिना गोपाली, अनिशा थारु, भगवती खड्का र अस्मिता भुजेलले कीर्तिमान आफ्नो नाममा लेखाए ।






Leave a Reply