काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले फागुन २१ गते सम्पन्न निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको निष्कर्ष निकालेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले नवनिर्वाचित जनप्रतिनिधि र राजनीतिक दलहरूलाई सुझाव दिँदै लोकतन्त्रको आवरणमा हुने लुटतन्त्र अन्त्य गर्न पनि आग्रह गरेको छ । ट्रान्सपरेन्सी नेपालले भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले नेपाली जनताको सुशासन र समृद्धिको चाहनालाई अभूतपूर्व रूपमा प्रदर्शन गरेको पनि जनाएको छ ।
ट्रान्सपरेन्सीले नवनिर्वाचित जनप्रतिनिधिहरू र राजनीतिक दलहरूद्वारा मुलुकलाई लोकन्त्रतको आवरणमा हुने लुट मुक्त गर्न, राजनीतिमा इमान्दारिता स्थापित गर्न र जनादेशबाट प्राप्त सत्ता र शक्ति निजी वा दलीय स्वार्थका लागि नभई पूर्णरूपमा जनहितमा प्रयोग हुने परिपाटी स्थापित गर्न अनुरोध गरेको छ ।
संस्थाका अध्यक्ष मदनकृष्ण शर्माद्वारा जारी विज्ञप्तिमा सत्ता र शक्तिलाई निजी वा दलीय स्वार्थमा नभई जनहितमा प्रयोग गर्न प्रमुख दललाई ध्यानाकर्षण समेत गराइएको छ । ट्रान्सपरेन्सी, नेपालले युवा पुस्ताको भावना र संलग्नता अंगालेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी सम्पूर्ण राजनीतिक दलबाट विजयी जनप्रतिनिधिहरूलाई बधाई ज्ञापन गरिएको छ ।
“कानुनी राज्यको उपहास गर्दै चरम भ्रष्टाचारले देशको अवस्था सोच्नै नसक्ने गरी कमजोर र शिथिल बनाउन जिम्मेवार राजनीतिक दल र प्रतिनिधिहरूलाई पाखा लगाउन सफल यस निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ,” अध्यक्ष शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नागरिकले दिएको अभूतपूर्व जनादेश र विश्वासलाई अब गठन हुने प्रतिनिधिसभा र संघीय सरकारले पूर्ण सम्मान गर्न पनि सुझाइएको छ । निर्वाचनमा मत माग्दा जनतासामु गरेका बाचाप्रति पूर्णप्रतिबद्ध रहेर आम नागरिकले सुशासनको स्पष्ट अनुभूति गर्ने गरी काम गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनको अपेक्षा छ ।





