काठमाडौं । नेपाल प्रहरीका अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुन् विज्ञान राज शर्मा । प्रहरीमा ३० वर्ष सेवा गरेर अवकाश जिवन बिताइरहेका शर्माले भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगको सदस्य भएर काम गरे । पूर्व न्यायाधिश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आफ्नो जाँचबुच सकेर प्रधानमन्त्री सुशिला कार्कीलाई प्रतिवेदन बुझाइसकेको छ । फागुन २४ मा प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।
साढे ५ महिना लगाएर भदौ २३ र २४ को घटना छानबिन गरेर आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएपछि मात्रै आफ्नो प्रतिवेदन बुझाएको थियो । आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मामाथी लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरुमाथी शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र फौजदारी कानुन अनुसार अनुसन्धान गर्न सिफारिस गर्न भुमिका खेलेको नेपाल प्रहरीका एकजना उच्च अधिकृतले खबरग्रामलाई बताए ।
प्रतिवेदन तयार गर्नुअघि नै संसदमा झण्डै दुईतिहाई मत ल्याउन सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुसँग भेटेर शर्माले अख्तियारमा जानेबारे छलफल गरेको जानकारहरु बताउँछन् ।
अख्तियारका एकजना आयुक्त किशोर सिलवाल मंसिर २५ देखी अवकाशमा गएका थिए । उनको स्थानमा आयुक्त नियुक्त हुन शर्माले लबिङ गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका एकजना उच्च अधिकारीले रातोपाटीसँग भने, ‘उँहाले आफुलाई अख्तियारको आयुक्त बन्न योग्य उम्मेद्वारको रुपमा प्रस्तुत गर्दै त्यहाँ गएर काम गर्ने इच्छा देखाउनु भएको छ ।’
अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई र आयुक्त जय बहादुर चन्द पनि १० महिनापछि अवकाशमा जाँदै छन् । आयोगमा प्रमुख आयुक्त सहित ५ जना पदाधिकारी हुन्छन् ।
संवैधानिक परिषद्ले अख्तियारका पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था छ । संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री हुन्छन् । संवैधानिक परिषद्को सदस्यहरुमा प्रधान न्यायाधिश, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, उपसभामुख र विपक्षी दलको नेता सदस्य हुन्छन् ।
अख्तियारको आयुक्त हुने दौडमा रहेका शर्मालाई गुण्डा नाइके राजु गोर्खालीसँग निकट रहेको आरोप लाग्दै आएको छ । शर्मा एसएसपी हुँदा गोर्खालीलाई प्रहरीले पछ्याइरहेको थियो । १० करोड चेक बाउन्स मुद्दाका फरार गोर्खालीलाई शर्माले आफ्नै गाडीमा लिएर जाँदै गर्दा प्रहरीले उनको गाडी रोकेर गोर्खालीलाई नियन्त्रणमा लिएको थियो । त्यसबेला शर्मा एसएसपीको परिचयपत्र देखाएर हिँडेको हाल बहालमा रहेका प्रहरी अधिकृतहरु बताउँछन् । तर, शर्माले सो आरोपबारे कहिल्यै स्पष्ट पारेनन् । यसबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।





