सुनसरी घटनामा ज्यान गुमाएका रवीन्द्र मेहताका परिवार र सरकारबिच ७ बुँदे सम्झौता


रवीन्द्रलाई शहीद घोषणा गरिने, शव देवानगञ्ज लगिने

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा गोली लागेर त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका रविन्द्र मेहताको परिवार र सरकारको बिचमा ७ बुँदे सम्झौता भएको छ । सोमबार साँझ गृहमन्त्री सुधन गुरुङ, स्वाथ्यमन्त्री निशा मेहता र सांसद लाल बिक्रम थापाको उपस्थितीमा सम्झौता भएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले खबरग्रामलाई बताए ।
साउन १९ मा २२ वर्षीय रविन्द्र मेहताको उपचारको क्रममा मृत्यु भएको थियो । उनी देवानगञ्जमा भएको हिन्दु र मुस्लिम समुदायको बिचको दंगामा परेर घाइते भएका हुन् । छलफलमा देवानगञ्ज गाउँपालिकाका अध्यक्ष र पीडित परिवारका तर्फबाट १० जना सहभागी थिए ।

रविन्द्रलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ ।

साउन १० मा देवानगञ्जमा भएको घटना छानबिन गरेर दोषीलाई कारबाही प्रक्रिया अघि बढाउने, देवानगञ्जमा सञ्चालित मदरसाको वियषमा छानबिन गर्ने र मृतकका परिवारका एकजना सदस्यलाई रोजगार उपलब्ध गराउने सहमति भएको छ । सहमतिसँगै मृतकको शव पोष्टमार्टम गरेर हेलिकप्टरमार्फत सुनसरी लैजान पीडित परिवार तयार भएका छन् । कप्तानगञ्जका ३ जना मृतकको सम्झनामा यसैवर्ष स्मृति पार्क निर्माण गर्ने सम्झौता भएको छ ।

घटनामा संलग्नहरुमाथी छानबिन समितिले पेश गरेको प्रतिवेदनको आधामार कारबाही प्रक्रिया अघि बढाउने सहमति भएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ । सम्झौता पत्रमा गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारको तर्फबाट रोशन कुमार मेहताले हस्ताक्षर गरेका छन् ।
पछिल्लो समय सुनसरी र सिरहामा भएको दंगामा परेर ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कप्तानगञ्जका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र सिरहा औरही गाउँपालिकाका गणेश यादव छन् ।