काठमाडौं । महोत्तरीमा ३ बर्षे बालकको हत्यामा संलग्न आरोपमा प्रहरीले १५ वर्षीया बालिका (बालबिज्याँइकर्ता)लाई पक्राउ गरेको छ । सो घटना जेठ २२मा महोत्तरीको सम्सी गाउँपालिका–५ पोखरभिण्डामा भएको हो ।
जेठ २२ मा ३ वर्षीय मनिकेश कुमार यादव घर बाहिर खेल्न गएका थिए । खेल्ने क्रममा बेपत्ता भएका मनिकेशको शव जेठ २४ मा पानी पोखरीमा बोरामा हालेको अवस्थामा भेटिएको थियो । मृतकले हातमा लगाएको दुईवटा चाँदीबो बाला पनि थिएन् । अनुसन्धान गर्दै जाँदा साउन ५ मा सोही ठाउँमा बस्ने १५ वर्षीया बालबिज्याँईकर्ताको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी पञ्चलाल गोलेले बताए ।
मनिकेश दौडिँदै गरेको अवस्थामा बालिका साईकल पछाडी ३० केजी मल राखेर खेततर्फ जाँदै थिइन् । मुख्य सड्कबाट भोला बाला मन्दिरतर्फ प्रवेश गर्न खोज्दा मनिकेश साइकल अगाडी आइपुगेको र ब्रेक नभएको साईकलले उनलाई किचेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पछाडी मल राखेको हुनाले बालिकाले साइकल नियन्त्रण गर्न सकिनन् ।
बालकको छाति माथिबाट साईकललको दुवै चक्का चढेको र त्यसपछि बालकको मृत्यु भएको अनुसन्धानबाट थाहा भएको छ । बालकले श्वास नलिएको यकिन भएपछि बालिकाले घटना लुकाउन शवलाई बोरामा राखेर ३ सय मिटर पर लगेर पोखरीमा फालेको अनुसन्धानले देखाएको छ । बालबिज्याँईकर्तालाई पक्राउ गरेर अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी गोलेले जानकारी दिए ।




