काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय तर्फको एमबिएस प्रथम सेमेष्टरको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले संदिप सिंहलाई पक्राउ गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका–११ घर भएर भक्तपुर बस्ने ३३ वर्षीय सिंहलाई पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।
साउन ८ मा सञ्चालित एमबिएसको अर्गनाइजेशनल बिहेबियर विषयको प्रश्नपत्र ह्वाट्स एप मार्फत बाहिरिएपछि त्यसबारे प्रहरीले अनुसन्धान थालेको थियो ।
पक्राउ परेका आरोपी सिंह बिरुद्ध शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको एसएसपी जबराले जानकारी दिए । घटनाबारे सीआईबीको मातहत रहेको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ । प्रश्नपत्र लिक भएको घटनाबारे छानबिन गर्न त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयले प्रा.डा अच्यूत वाग्लेको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।




