सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ ।
न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ ।
उनीहरूको हकमा चैत २१ गतेदेखि लागुहुने गरी तेस्रो पटक ५ दिनको म्याद थप अनुमति गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश अनुसारको समयअवधिमा अनुसन्धान कार्य सम्पन्न भई मुद्दा चल्ने वा नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा तत्पश्चात अर्थात, तेस्रो पटक थपिएको म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी परमादेश जारी गरिएको छ,’ आदेशमा भनिएको छ
भदौ २३ को जेनजी आन्दोलनमा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको आरोपमा १४ चैतमा ओली र लेखक पक्राउ परेका थिए । प्रहरीले ज्यान मुद्दाको कसुरमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंको अनुमतिमा थुनामा राख्दै आएको छ ।





