राजु अर्यालको बिदाई, पौडेलले सम्हाल्दै सशस्त्रको कमाण्ड

काठमाडौं । सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल आजबाट अवकाशमा गएका छन् । सशस्त्र प्रहरीको प्रधान कार्यालय हलचोकमा आयोजित समारोहमा अर्याललाई भव्य बिदाई गरिएको छ । पूर्व आईजीहरुको उपस्थितीमा नवनियुक्त आईजी नारायणदत्त पौडेलले अर्यालको बिदाई गरेका हुन् । अर्याल र पौडेल ब्याचमेट हुन् ।

आईजीको चार वर्षे सेवा अवधी पुरा गरेर अवकाश पाएका अर्यालले २०७९ वैशाख १९ बाट सशस्त्र प्रहरीको कमाण्ड समालेका थिए । सशस्त्र प्रहरीमा आईजीको पदावधी ४ वर्ष हुने व्यवस्था छ । २०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका अर्याल सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।

अर्यालको बिदाईसँगै सशस्त्रको कमाण्ड पौडेलले सम्हाल्ने छन् । मन्त्रिपरिषद्ले १९ गतेबाट लागु हुनेगरी नारायणदत्त पौडेललाई आईजी नियुक्त गरेको थियो ।

अर्यालले आफ्नो कार्यकालमा २०७९ को निर्वाचन र २०८२ को निर्वाचनमा सुरक्षा प्रदान गर्न सशस्त्रका सकलदर्जाको नेतृत्व गरे । आफ्नो कार्यकालमा दुर्गा प्रसाईं नेतृत्वको आन्दोलन र जेनजी प्रदर्शनसँगै भएको उथलपुथलकारी समय भोगेर अर्याल संगठनबाट बिदा भएका छन् ।