काठमाडौं । अख्तियार प्रमुख प्रेम कुमार राई सहितका हाइप्रोफाइललाई धम्क्याएको घटनामा नागरिक उड्ययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारी र प्रकाश पाठक सहित ३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ । सरकारी वकिलले मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । प्रहरीले त्यसबारे शुक्रबार नै अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । घटनामा संलग्न झापाको बुद्धशान्ति गाउँपालिका–२ घर भएका ५६ वर्षीय तारा प्रसाद खरेलाई पनि प्रतिवादी कायम गरिएको छ ।
प्रकाश पाठकलाई प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा पक्राउ गरेको थियो । पाठकले अख्तियार प्रमुखलाई धम्क्याउन नागरिक उड्ययन प्राधिकरणका तत्कालिन महानिर्देशक प्रदीप अधिकारीसँग ‘सुपारी’ लिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
प्रहरीले उनीहरु बिरुद्ध आपराधिक लाभ, आपराधिक षडयन्त्र गर्न नहुने कसुर, विद्युत्तिय कारोबार ऐन र संगठित अपराध निवारण ऐन बिरुद्धको कसुरमा अभियोग लगाउन राय दिएको छ । काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका पाठकलाई फिलिपिन्समा पक्राउ गरेर २०८२ माघ २८ मा नेपाल ल्याएर प्रहरीले अनुसन्धान गरेको थियो ।
अनुसन्धान अधिकृतहरुसँगको बयानमा पाठकले प्रदिप अधिकारीसँग रकम लिएको स्विकार गरेका छन् । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माण गर्दा अनियमितता भएको उजुरीमाथी अख्तियारले अनुसन्धान गरिरहेको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि अख्तियारले अनुसन्धान गरिरहेको बेला ति मुद्दाबाट जोगिन अधिकारीले अख्तियार प्रमुख बिरुद्ध आपराधिक ‘गिरोह’ परिचालन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
अधिकारीसँग आफुले २ करोड नगद लिएको पाठकले बयानमा स्विकार गरेका छन् । भ्रष्टाचार मुद्दामा अधिकारी हाल कारागार कार्यालय डिल्लीबजारमा थुनामा छन् ।





