काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर–५ घर भएर सुकेधारा बस्ने कविराज कटुवाल जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा छन् । ३४ वर्षीय कटुवाल थोरै लगानी गरेर धेरै रकम असुल्ने ‘मिटरव्याज’ धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका हुन् ।
भदौ ३ मा साँझ प्रहरीले उनलाई मकवानपुरको हेटौंडाबाट पक्राउ गरेर ललितपुर ल्याएको हो । ४ वर्षअघि बौद्धमा रेडिमेड कपडा र जुत्ताको व्यापार गर्ने युवकसँग उनको चिनजान हुन्छ । प्रधानमन्त्री, गृहमन्त्री र राज्यको उच्च ओहदाका भिआईपीहरुसँग फोटो खिचेर फेसवुकमा पोष्ट गर्ने कटुवालसँग ति युवकले व्यापार चलाउन केही रकम खाँचो परेको सुनाउँछन् । व्याज तिनुपर्ने शर्तमा कटुवालले उनलाई २०८० वैशाखमा पटक–पटक गरेर १ करोड ४० लाख रुपैयाँ ऋण दिए । त्यहि ऋणले ति युवक सड्कमै आएका छन् ।
ऋण फिर्ता गर्ने नाममा युवकले ४ करोड ८६ लाख ९३ हजार कटुवाललाई बुझाई सकेका छन् । तर, कटुवालले अझै रकम फिर्ता माग्दै साउन २२ मा युवकले चढ्ने गरेको बा.२० च ५२० नम्बरको क्रेटा गाडी कब्जा गरे । युवकले आफ्नो जाहेरीमा भनेका छन्, ‘ललितपुरको लबिम मलबाट गाडी कब्जा गरे, धम्कि दिएर ५ लाख ५० हजारको चेक पनि लिएका छन् ।’
कटुवाल बिरुद्ध प्रहरीले अनुचित लेनदेन गर्न नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी भन्छन्, ‘अनुचित लेनदेन सम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छौं ।’
कटुवालले पीडितसँग ६० लाख रकम नगदै असुलेका थिए । ललितपुर महानगरपालिका–४ धोविघाटमा लगेर आफुले नगद ६० लाख रुपैयाँ बुझाएको जाहेरवालाले अनुसन्धान अधिकृतहरुलाई बताएका छन् । अरु रकमचाहिँ कटुवालले आफु र आफ्ना मान्छेहरुको खातामा हाल्न लगाए । मिटरव्याज असुल्न ८ जनाको खाता प्रयोग भएको भेटिएको छ ।
कटुवालको एभरेष्ट बैंकको खातामा १ करोड १३ लाख ६० हजार र कुमारी बैंकको खातामा ५८ लाख रकम पीडितले डिपोजिट गरेको जिकिर गरेका छन् । त्यस्तै कटुवालले भनेअनुसार पशुपति कटुवाल क्षेत्रीको नामको गरिमा विकाश बैंकको खातामा १८ लाख ३० हजार र एभरेष्ट बैंकमा १४ लाख ५० हजार रकम डिपोजिट गरेको पीडिले अनुसन्धान अधिकृतहरुलाई बताएका छन् ।
जाहेरवालाले मन्जु भण्डारीको नामको सिद्दार्थ बैंकको खातामा १४ लाख २५ हजार, भिमराज गिरीको खातामा ७२ लाख ८० हजार, शिवमाया गिरीको खातामा ५ लाख ५० हजार, शरद प्रताप सिंहको बैंक खातामा ३ लाख २० हजार र सलिना कटुवालको सिद्धार्थ बैंक खातामा १४ लाख ५० हजार तथा एभरेष्ट बैंकको खातामा १३ लाख ६० हजार डिपोजिट गरेका छन् । त्यस्तै, विक्रम सिंह गुरुङ्गको खातामा १५ लाख र तिलकराम राईको खातामा ८ लाख ६० हजार डिपोजिट गरेको उनले दावी गरेका छन् ।
सो रकम मोबाइल बैंकिङ्ग, आइपिएस र आरटिजिएस प्रणाली मार्फत डिपोजिट गरेको पीडितले दावी गरेका छन् । साउन २७ मा ललितपुर प्रहरीमा दिएको जाहेरीमा उनले भनेका छन्, ‘मैले कुल ४ करोड ८६ लाख ९३ हजार कविराज र उनको भनेका मानिसहरुलाई रकम फिर्ता गरेको छु ।’ २०२३ देखी २०२५ सम्ममा करिब ५ करोड फिर्ता गर्दा पनि अझै धम्कि दिएर रकम माग्ने गरेको पीडितले बताएका छन् । तर, आरोपी कटुवालले त्यसरी बैंक खातामा रकम डिपोजिट गरेको आफुलाई थाहा नभएको बताएका छन् । अनुसन्धान अधिकृतहरुसँग उनले भनेका छन्, ‘मेरो खातामा र मैले भनेका मान्छेहरुलाई रकम फिर्ता गरको मलाई थाहा भएन् ।’





Leave a Reply