हुण्डी कारोबार गर्ने युवाको खातामा २० करोढ ९६ लाखको ट्रान्जेक्सन

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–८ स्थित भिमढुंगा घर भएका दुईजना युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । भिमढुंगाका २८ वर्षीय सागर गिरी र २८ वर्षका प्रमोद प्रसाद धिताल चैत २ मा पक्राउ परेका थिए ।

उनीहरुले हुण्डी र क्रिप्टो कारोबार गरेको आरोप छ । आरोपीहरुको घरबाट जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १ करोड १६ लाख नगद बरामद गरेको थियो । बरामद रकम आरोपीहरुले क्रिप्टो कारोबार मार्फत आर्जन गरेर आफ्नो बैंक खातामा ट्रान्सफर गरेर निकालेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले खबरग्रामलाई बताए ।

आरोपी द्ववय गिरी र धितालले क्रिप्टो कारोबार पनि गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनिहरुको ल्यापटप, मोबाइल र बैंक खाताको विवरण हेर्दा अहिलेसम्म उनीहरुले २० करोड ९६ लाख बराबरको क्रिप्टो कारोबार गरेको भेटिएको एसपी भट्टराईले जानकारी दिए । उनले भने, ‘आरोपीहरुको खातामा २० करोड ९६ लाख ट्रान्जेन्सन देखिएको छ ।’ सो रकम उनीहरुले क्रिप्टो मार्फत कारोबार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रमोदको मोबाइलमा बायनान्स अकाउन्ट खोलेको भेटिएको छ । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार बायनान्स अकाउन्ट मार्फत क्रिप्टो काराबोर गर्ने गरिन्छ ।

आरोपीहरुले सात–आठ वटा ईसेवा अकाउन्ट खरिद गरेर ति अकाउन्टमार्फत कारोबार गर्ने गरेको भेटिएको छ । एसपी भट्टराईको अनुसार उनीहरुले डार्कवेब मार्फत ति अकाउण्ट खरिद गरेका हुन् । प्रहरीले ति खाताबारे यकिन विवरण माग गर्दै ईसेवालाई पत्राचार गरेको छ । उनीहरुले ६ वटा बैंक खाता मार्फत कारोबार गर्ने गरेको थिए ।

सागर गिरीले १० कक्षा सम्म पढेका छन् । अर्का आरोपी प्रमोदले एसएलसी उत्तिर्ण गरेका छैनन् । उनीहरुको मोबाइल फरेन्सिक परिक्षणको लागी प्रहरी प्रधान कार्यालयमा पठाइएको एसपी भट्टराईले जानकारी दिए ।