शपथमा औपचारिक वा पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन सांसदहरूलाई आग्रह

सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभामा नवनिर्वाचित सदस्यहरूलाई आगामी चैत १२ गते शपथ ग्रहणको तयारी गरेको छ। सचिवालयले एक सूचना जारी गर्दै आगामी बिहीबार दिउँसो २ बजे शपथ ग्रहण का लागि उपस्थित हुन आग्रह गरेको छ ।
सचिवालयका अनुसार शपथ ग्रहण कार्यक्रम सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। निर्वाचित सदस्यहरूले शपथ ग्रहणका लागि कार्यक्रम सुरु हुनुभन्दा २ घण्टा अगावै उपस्थित हुनुपर्नेछ।

उपस्थित हुँदा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र , नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको फोटो अनिवार्य ल्याउनुपर्ने सूचनामा उल्लेख छ।
सचिवालयले सदस्यहरूलाई औपचारिक पोसाक वा आफ्नो सांस्कृतिक पहिचान झल्किने राष्ट्रिय पोसाकमा उपस्थित हुन अनुरोध गरेको छ।