संसद्को दुवै सदनको बैठक आज बस्ने

संघीय संसद्‌अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा, दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी का डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गर्नेछ भने राष्ट्रियसभामा विभिन्न मनोनयन र प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

सिंहदरबारस्थित नयाँ संसद् भवनमा बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा ‘डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्तावलाई औपचारिक रूपमा निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ ।
अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछाने प्रस्तावक छन् भने सांसदहरू स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका छन् ।
यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ । बैठकमा सभाध्यक्षले विषयगत समितिहरूमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यसूची छ । साथै, अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम पनि मनोनयन गरिनेछ ।संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार, बैठकमा बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।