काठमाडौं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकका तर्फबाट दायर भएका छुट्टाछुट्टै बन्दीप्रत्यक्षीकरण रिटमा विपक्षीका तर्फबाट लिखित जवाफ प्राप्त भएको छ।
सर्वोच्च अदालतले यसअघि जारी गरेको ‘कारण देखाउ आदेश’ पछि सरकारका तर्फबाट जवाफ आएकाले संभवतः आइतबार उक्त मुद्दामा अन्तिम सुनुवाइ हुनेछ।
जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रहरीले चैत १४ गते दुवै नेतालाई पक्राउ गरेको थियो।
आफूहरूको पक्राउ गैरकानुनी र बदनियतपूर्ण रहेको दाबी गर्दै ओली र लेखकका तर्फबाट चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणका रिट निवेदन दर्ता भएका थिए।
उक्त रिटमाथि चैत १६ गते प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका छुट्टाछुट्टै इजलासले सरकारका नाममा लिखित जवाफ माग गरेका थिए।
अदालतको आदेशअनुसार विपक्षीहरूबाट जवाफ आइसकेकाले अब मुद्दाका सबै पक्ष र कागजात पूर्ण भएको स्रोतले जनाएको छ।





