विपद् पुर्वतयारीबारे सशस्त्रको हेडक्वार्टरमा गृहमन्त्रीलाई ब्रिफिङ


काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्रको हेडक्वार्टरमा मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे जानकारी लिएका छन् । सशस्त्रका निमित्त प्रमुख एआईजी नारायणदत्त पौडेलले मनसुनजन्य विपद् व्यवस्थापनको पुर्व तयारीबारे ब्रिफिङ गरे ।

सशस्त्रले विगतमा गरेका काम र यस वर्षको मनसुन प्रतिकार्य योजना–२०८२ अनुसार सवै संयन्त्रलाई तयार राखिएको एआईजी पौडेलले जानकारी गरएका छन् ।

गृहमन्त्री लेखकले अहिले मनसुनको पूर्व सन्ध्या भएकोले सबै सुरक्षा निकायहरुलाई विपद् उद्धार कार्यमा तत्काल परिचालन हुनसक्ने गरी तयार राख्नुपर्ने बताएका छन् । सबै सुरक्षा निकाय, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेमा विपद्मा परेकाहरुको उद्धार र राहतमा तत्काल सहयोग गर्न सकिने उल्लेख गर्दै मन्त्री लेखकले भने, ‘पूर्व सूचनाको आधारमा जोखिम ठाउँहरु पहिचाहन गरी उद्धारको लागि तयारी हालतमा बस्नुपर्छ ।’

निमित्त गृहसचिव जयनारायण आचार्यले विपद्को समयमा सबै निकायहरुसँग समन्वय र सहकार्य गर्न जरुरी रहेको उल्लेख गर्दै विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहने बताए ।

एआईजी नारायणदत्त पौडेलले विपद्मा परिचालन गर्नेगरी सशस्त्रका ८ वटा बाहिनी मुख्यालय, २ वटा तालिम शिक्षालय, एउटा गण, ९ वटा वेश र २ वटा रेस्क्यु टावरमा उच्चस्तरीय उद्धार सामाग्रीसहित सुरक्षा फौज तैनाथ राखिए ब्रिफिङ गरेका छन् ।

एआईजी पौडेलले सशस्त्रका २ हजार ४ सय ८१ जना विपद् व्यवस्थापन र १ सय २८ जना गोताखोर तालिम प्राप्त जनशक्तिलाई विशिष्टिकृत उद्धार सामाग्रीसहित सातवटै प्रदेशमा परिचालन गरिएको बताए । उनले भने, ‘कि–रेस्पोण्डरको रुपमा विपद् प्रतिकार्यमा परिचालन हुनका लागि ९ वटा विपद् व्यवस्थापन वेश स्थापना भएकोमा आगामी मनसुन प्रतिकार्यको लागि थप न्यूनतम ३५ स्थानमा अस्थायी मनसुन प्रतिकार्य वेश समेत स्थापना गर्ने हाम्रो लक्ष्य छ ।’

सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दीगविजयी सुवेदीले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, क्षमता, तयारी र प्रतिकार्य योजनाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल प्रहरीका आईजीपी दिपक थापा पनि सहभागी थिए ।