नोबेल मेडिकल कलेजले दिएन आवासिय चिकित्सक निर्वाह भत्ता

काठमाडौं । सरकारले आवासीय चिकित्सकलाई ४८ हजार ७ सय ३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय गरेको छ। जसको अधिकांस मेडिकल कलेजले कार्यान्वयन गरेका छन् ।

तर, सांसद सुनिल शर्मा सञ्चालक रहेको नोबेल मेडिकल कलेजले पनि पुरानै अर्थात् १९ हजार मात्रै दिने गरेको खुलेको छ। विद्यार्थीको खातामा सरकारको निर्णय र निजी मेडिकल कलेजको सहमति कार्यान्वयन नगरेको पाइएपछि राष्ट्रिय चिकित्सक संघ, नेपालले ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय चिकित्सक संघ, नेपालका कोशी प्रदेश कमिटी संयोजक डा.शिलबन्त सेन श्रीवास्तव नेतृत्वको टोलीले प्रमुख कार्यकारी अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएको हो।

नोबेल मेडिकल कलेजले अझै पनि आयोगको निर्णयको पूर्ण पालना नगरी आवासीय चिकित्सकहरूलाई केवल रु १९,००० मात्र निर्वाह भत्ताका रूपमा उपलब्ध गराउँदै आएको छ ।

यस प्रकारको व्यवहारले चिकित्सक समुदायमा गम्भीर असन्तोष र आक्रोश उत्पन्न भएको छ, ध्यानाकर्षण पत्रमाभनिएको छ, ‘यदि आयोगको निर्णय अनुसार सम्पूर्ण आवासीय चिकित्सकहरूलाई आठौं तहका मेडिकल अधिकृत सरहको निर्वाह भत्ता तुरुन्त उपलब्ध नगराइएमा, राष्ट्रिय चिकित्सक संघले नोबेल मेडिकल कलेज केन्द्रित विरोध कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुनेछ ।’