बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट (मेसु) डा. इन्द्र ढकाललाई आफ्नो दरबन्दी रहेको गजेन्द्रनारायण सिंह अस्पताल, सप्तरीमा हाजिर हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, डा. ढकालको पदस्थापन २०८१ साल असार ५ गतेको निर्णयअनुसार सप्तरीस्थित गजेन्द्रनारायण अस्पतालमा गरिएको थियो। तर उनी हालसम्म बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत छन्, जसका कारण सप्तरीको अस्पतालमा सेवा प्रभावित भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले डा. ढकाललाई तुरुन्त दरबन्दी रहेको अस्पतालमा हाजिर हुन निर्देशन दिँदै लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बोधार्थ पत्रसमेत पठाएको छ। मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालद्वारा हस्ताक्षरित उक्त पत्रमा यसबारे स्पष्ट उल्लेख गरिएको छ।
डा. ढकाल हाल १० तहका सर्जन हुन् तर केही समयअघि प्रदेश सरकारले उनलाई ११ तहको पद रहने मेसु बनाएको थियो। यस विषयमा अदालतमा मुद्दासमेत दायर भएको थियो।
यसबारे लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले भने, डा.ढकाल प्रादेशिक अस्पतालका मेसु हुन् भन्ने थाहा छ तर उहाँको दरबन्दी सप्तरीमा छ भन्ने जानकारी मलाई थिएन। मन्त्रालयले मुख्यमन्त्री कार्यालयलाई बोधार्थ पत्र पठाएको भए पनि मसँग अहिले सम्म त्यो पत्र आएको छैन। अब थप बुझेर प्रक्रिया अघि बढाउनेछु।’






Leave a Reply