सगरमाथा बेसक्याम्पमा पुगेर गृहमन्त्री लेखकले भने, ‘पर्यटकको उद्धारको लागी निर्वाध हेलिकप्टर उड्ने बातावरण बनाउँछु’

काठमाडौं । गृहमन्त्री रमेश लेखक सगरमाथा आधार शिविरमा पुगेका छन् । आधार शिविर (बेसक्याम्प)को निरिक्षण भ्रमण गर्दै लेखकले पर्यटकीय सिजनमा आरोपीहरुको अवस्थाबारे जानकारी लिएका छन् । सगरमाथा क्षेत्रको सुरक्षा अवस्था समेत बुझ्न लेखक त्यहाँ पुगेको उनको सचिवालयले जनाएको छ ।

शनिबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधारशिविरमा लेखकले सरकारले सगरमाथा क्षेत्रमा उद्धार, पर्वतारोहण सहयोग र पर्यटकहरूको सहजताका लागि निर्वाध रूपमा हेलिकप्टर उड्ने वातावरण सिर्जना गर्न तत्पर रहेको बताए ।

उनले शारीरिक रूपमा कमजोर वा दुर्घटनामा परेका पर्यटकको उद्धारका लागि हेलिकप्टर अत्यावश्यक रहेको उल्लेख गर्दै, सरकारको नीति यस्तो सेवालाई सहज र समन्वित बनाउने दिशामा केन्द्रित हुने स्पष्ट पारे । गृहमन्त्री लेखकले भने, ‘सगरमाथा क्षेत्रको पर्यटन प्रवर्दनको लागी सरकारले अब फरक ढंगले जनमुखी नीति कार्यान्वयन गर्दैछौँ, हामी उद्धारका हेलिकप्टर उडानमा रोक लगाउने होइन, अव्यवस्थित र अनावश्यक उडानलाई नियमन गर्ने तयारीमा छौं ।’

सगरमाथा क्षेत्रमा उद्धार बाहेकका हेलिकप्टर उडान रोक्नुपर्ने स्थानियको माग छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले बारम्बार हेलिकप्टरको दुरुपयोग भएको भन्दै नियमित उडान रोक्न आग्रह गर्दै आएको थियो । तर, पर्यटन व्यवसायीहरुले अत्यधिक हेलिकप्टर उडानमा प्रतिबन्धले व्यवसायमा नकारात्मक असर परेको जनाउँदै, नियमनसहितको स्वतन्त्रता माग गर्दै आएका छन् । अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओली समेत सगरमाथा क्षेत्रमा देखिएका समस्याबारे जानकार रहनुभएको उल्लेख गर्दै समस्या समाधानका लागि सगरमाथा संवाद कार्यक्रम सञ्चालन भइरहेको मन्त्री लेखकले बताए ।