असुरक्षित सडक, चालकलाई मात्र ‘दोष’

आशिष गजुरेल

सडक दुर्घटनासम्बन्धी तथ्याङ्कमा हाम्रोमा ठुलो समस्या देख्छु । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा वार्षिक सरदर ८ हजार ५ सय मानिसले सडक दुर्घटनामा ज्यान गुमाउँछन् । नेपाल सरकारको तथ्याङ्क हेर्दा ३ हजार भनेको हुन्छ । सधैँ जसो तथ्याङ्क एउटै हुन्छ । अब यति फरक किन हुन्छरु झन्डै ५ हजार ५ सयको फरक कसरी भयो त ? कि नेपाल सरकारले त्यो तथ्याङ्कलाई अपनत्व लिनुपर्छ नभए, यो होइन भनेर विश्व स्वास्थ्य सङ्गठनलाई भन्न सक्नुपर्छ । दुवै कुरा भन्न नसक्दा हामी गलत तथ्याङ्कमा काम गरिरहेका छौँ । गलत तथ्याङ्कबाट कुन हिसाबले दुर्घटना भइरहेको छ र यसलाई रोकथाम कसरी गर्ने भनेर निष्कर्षमा पुग्न सकिँदैन ।

तथ्याङ्कमा हेर्दा वर्षायाममा बढी दुर्घटना भएको देख्छौँ । त्यसका तीन–चारवटा कारणहरू छन् । सडक सुरक्षा भनेको सिस्टम अप्रोच हो । त्यसमा एउटा मात्र कारक हुँदैन । त्यसमा सडक पूर्वाधार हुन्छ, त्यहाँ गुड्ने सवारी साधन हुन्छन्, त्यसपछि सडक प्रयोगकर्ता । सडक प्रयोगकर्तामा हामीले चालक मात्र सम्झिन्छौँ, त्यो गलत हो । चालक, यात्रु, निजी सवारी साधनका चालक, साइकल चालक र पैदलयात्री सबै सडक प्रयोगकर्ता हुन् ।

हाम्रो सडक प्रयोगकर्तामा ज्ञान, सीपको पनि कमी छ, शिक्षाको पनि कमी छ र अनुशासनहीनता छ । अनुशासन त छँदै छैन । सडकमा अराजकता झल्किन्छ ।

हामी प्रविधिमैत्री छैनौँ । प्रविधिको प्रयोग गर्न नसक्दा दुर्घटना भइरहेको छ । अनि, भएको नियम कानुन पनि हामीले लागू गर्न सकेका छैनौँ । जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिएको छैन । कारबाहीलाई पनि प्रभावकारी रूपमा अघि बढाउन सकेका छैनौँ । यस्तै कारणहरूले गर्दाखेरि सडक दुर्घटना हुने हो । वर्षामा दुर्घटना किन बढ्छ भने, हाम्रो सडक विभागले हेर्ने इन्जिनियरिङ डिजाइन प्रयोग गरेर बनाएको सडक २५ हजार किलोमिटरको हाराहारी छ । अरू, ७५ हजार किलोमिटर गाउँ–गाउँ जोड्न मात्र बनाइएको सडक सञ्जाल छ ।

वर्षामा सडक चिप्लो हुन्छ, ग्रिप बस्दैन । अर्को कुरा, हाम्रो अधिकांश सडक पहाडी भूभागमा छ । वर्षामा सडकमा हिलो खस्छ, पहिरो जान्छ । खोला किनारमा भएका सडकमा खोला पस्छ, पानीले सडक बिगारेर दुर्घटना हुन्छ । सडकभन्दा माथिबाट खस्ने माटोका कारण बाटो चिप्लो हुन्छ । चिप्लो बाटोका कारण त्यसै दुर्घटनाको जोखिम बढिहाल्यो । पिच रोडमा पनि खाल्डाखुल्डी धेरै छन् । अनि, वर्षायाममा पर्ने पानीले खाल्डो भरिँदा सवारी खाल्डोमा पर्छ र दुर्घटना हुन्छ । वर्षामा भिजिबिलिटी कम हुन्छ । गाडीमा बाफ आउँछ, त्यसलाई राम्रोसँग कसरी हटाउने भन्नेबारे चालकहरू जानकार छैनन् । अन्दाजमा गाडी चलाउँदा यसबाट पनि दुर्घटनाको जोखिम बढेको छ । वर्षायाममा खोला ठुलो हुन्छ, सवारी पल्टेर खोलामा खस्दा सबैजसो यात्रुको मृत्यु हुन्छ ।

असुरक्षित सडक, चालकलाई ‘दोष’

चालकको लापरवाही र तीव्र गतिको कारण दुर्घटना भएको भनेर दुर्घटनापछि अवैज्ञानिक तर्क गर्ने गरिएको छ । चालकको हातमा स्टेरिङ हुन्छ भन्दैमा खाल्डो देखेनौ रु ओभर स्पिड चलाउनु हुँदैन भनेर थाहा थिएन रु भनेर भन्न पाइयो तर, त्यो कुरा होइन ।

सुरक्षित सडकमा ठुलो गल्ती हुँदा पनि दुर्घटना कम हुन्छ । तर, खराब सडक पूर्वाधारमा सानो गल्तीबाट पनि ठुलो क्षति हुन्छ । स्विडेनले एउटा रणनीति सुरु गर्‍यो ‘जिरो भिजन’ भनेर । संसद्बाट पास गरेर उसले के भन्यो भने, मानिस भनेको मानिस हो, सवारी भनेको यन्त्र हो । दुवैबाट गल्ती हुन सक्छ । त्यसैले यस्तो खालको पूर्वाधारमा लगानी गरौँ जसले सवारीको र मानिसको गल्तीलाई समेत सुधारेर क्षति कम गर्न सक्छ । आज विश्वको नम्बर एक सडक सुरक्षा भएको देश बनेको छ, स्विडेन ।

यो उदाहरणबाट काफी छ कि दुर्घटनाको मुख्य कारण सडक नै हो । हामीले सडक चाहिँ सुरक्षित बनाउन सकेनौँ । हाम्रोमा पूर्ण रूपमा सुरक्षित सडक एक किलोमिटर पनि छैन ।

पूर्ण सुरक्षित सडक बनाउन लगानी चाहिन्छ । हाम्रो हाइवेमा दायाँपट्टि चिया पकाउने अनि, चिया बेच्न बायाँपट्टि लैजाने चलन छ । त्यस्तो पनि राजमार्ग हुन्छरु अनि, राजमार्गमा खसी–बाख्रा हिँडेका छन् । कुखुरा छोडिदिने चलन छ । राजमार्गमा जनावरले दुर्घटना गराइरहेका छन् । गाईवस्तु चराउन जाने मान्छेले दुर्घटना गराएका छन् । चिया यता पकाएर उता लग्नेले दुर्घटना गराएका छन् ।

त्यसमा वैज्ञानिक ढङ्गको राजमार्ग बनाउने पद्धति लागू गर्नुपर्छ । अहिले तयार भएको १ लाख किलोमिटर सडकलाई मजबुत र सुरक्षित बनाउन लगानी गर्नुपर्छ ।

अहिले पनि कतिपय सडक ज्यानमारा छन् । वर्षामा त्यहाँ सवारी हिँडाउन हुँदैन भन्ने थाहा छ । त्यस्ता सडक तत्काल बन्द गर्नुपर्छ । तर, हामी गर्दैनौँ । पूर्वी नवलपरासीको विनयी खोलामा डाइभर्सन बनाएर गाडी चलाइएको छ । पूर्व–पश्चिम राजमार्ग, नेपालको सबभन्दा पुरानो राजमार्गमा खोलाको बाटोबाट गाडी हिँडाइराखिएको छ । अब, त्यो सुरक्षित छैन भने त त्यो त बन्द गर्दिनुपर्‍यो नि । त्यसरी खोलामा गाडी हालेर जनताको सुरक्षामा त खेलबाड गर्न पाइएन नि । त्यो कसको कमजोरी हो त रु त्यो चालकको कमजोरी हो वा गाडीधनीको कमजोरीरु

सडक त्यस्ता छन्, अनि हामी चालकलाई दोष दिएर बस्छौँ । हुन त चालकले किन गाडी हाल्यो भन्ने प्रश्न होला । चालकको पेसा हो, जागिर हो, साहुले भोलि जागिरबाट हटाउला भन्ने हुन्छ । रोजगारीको ग्यारेन्टी भएमा पनि उसले त्यसरी जोखिम मोलेर अप्ठ्यारो बाटोमा गाडी हाल्ने अवस्था आउने थिएन ।

पिच रोड मात्र सडक होइन । हाम्रोमा माथिबाट ढुङ्गा खसेर पनि दुर्घटना हुन सक्ने हुनाले भिर भएको ठाउँमा रिटेन्सन वाल हुनुपर्छ । पहाडको बिचबाट बनेका सडकमा भूगर्भीय जोखिम अध्ययन गरेर तल्लो भाग र माथिल्लो भाग दुवैतिर सुरक्षात्मक उपाय र गाडी खस्नबाट रोक्न रोड सेफ्टी ब्यारियर लगाउनुपर्छ । त्यही भएर मैले भनेको हाम्रो सडक १ किलोमिटर पनि पूर्ण रूपमा सुरक्षित छैन ।

नयाँ बानेश्वरको सडकमा त बिचमा डिभाइडर छैन । सर्भिस लेनमा डिभाइडर हालेर बिचमा लाइन मात्रै कोरिएको छ । क्रसिङ जताबाट पनि आउजाउ गर्न मिल्छ अनि, ट्राफिक लाइट बल्दैन । उपत्यकामा बिस्तारै पूर्वाधार सुधार गरेर आकासे पुल, जेब्रा क्रसिङ र ट्राफिक लाइट बनाउन थालिएको छ । ट्राफिक लाइट र जेब्रा क्रसिङ राखेपछि दुर्घटना घट्दै गएको छ । तैपनि रातको समय, बिहान र अफ टाइममा तीव्र गतिको कारण धेरै दुर्घटना भइरहेको हुन्छ ।

स्पिड लिमिटको विज्ञान

धेरै दुर्घटनाको कारणमा प्रहरीले ‘तीव्र गति’ भन्ने गरेको छ । तर, हामीले स्पिड लिमिटको विज्ञान बुझ्नुपर्छ । ट्राफिक इन्जिनियरिङ पढ्दाखेरि स्पिड लिमिट हरेक सडकमा तोक्ने फर्मुला छ । हरेक सडकको डिजाइन स्पिड हुन्छ । कुन डिजाइन स्पिडमा सडक बनाइएको हो, त्यसको क्रसिङ कति छ, कति लेनको सडक हो, त्यहाँ कति सवारी गुड्छ, ट्राफिक लाइट छ कि छैन, क्यामेराहरू छन् कि छैनन्रु मौसम, खाल्डाखुल्डी र अवरोधहरू हेरेर वैज्ञानिक स्पिड लिमिट तोकिन्छ । जस्तै, विकसित देशमा जानुभयो भने घाम लाग्दा त्यहीँ ८० किलोमिटर पर आवर भनेको हुन्छ, पानी पर्‍यो भने ४० किलोमिटर पर आवरमा आफैँ परिवर्तन हुन्छ, डिजिटल बोर्डमा देखिन्छ । हाम्रोमा स्ट्याटिक बोर्ड छ, सधैँ त्यही राखिन्छ । जर्मनमा अति तीव्र गतिमा चलाउन सकिन्छ, सडक नै त्यसरी डिजाइन गरिएको हुन्छ ।

हाम्रोमा स्पिड लिमिटको बारेमा राज्यका निकायले अहिलेसम्म यस्तो हो भनेको छैन । रिङरोड ८ लेनको बनाएर स्पिड लिमिट ५० तोकिएको छ । ५० मात्रै चलाउन पाउने भए सडक किन ८ लेनको बनाएको भनेर ६० प्रतिशत सडक प्रयोगकर्ताले भन्ने गरेका छन् । त्यो किनभने बुझाउन सकिएको छैन ।

सडक अनुशासन पालना पनि एकदमै छैन । अँध्यारोमा मेरो स्पिड आफैँ कम गर्छु भन्ने सोच चालकमा आउनुपर्छ । अर्को दुर्घटना हुने कारण ‘म जान्ने छु’ भनेर ठुलो सवारीले सानोलाई र सवारी साधनले पैदलयात्रुलाई पेलेर सडक प्रयोग गरिन्छ । सडक भनेको त सार्वजनिक थलो हो निरु

अनुशासनले दुर्घटना कम गर्छ भन्नेमा कुनै शङ्का छैन । तर, अनुशासनले नै दुर्घटना जिरोमा ल्याउन सकिँदैन । अनुशासनले स्पिडलाई कन्ट्रोल गर्छ, एक–अर्कालाई चाहिँ रेस्पेक्ट गर्छ, बाटो काट्दा जेब्रा क्रसिङको प्रयोग गर्छ, फुटपाथ प्रयोग गर्छ, आकासे पुल प्रयोग गर्छ, जेब्रा क्रसिङमा सवारी रोकेर चाहिँ पैदलयात्रीलाई हिँड्न दिन्छ । अनुशासित चालकले जहाँ पायो त्यहीँबाट गाडी मोड्दैन । अनुशासनले दुर्घटनामा कमी ल्याउँछ तर, अब हामीले खोजेको सडक सुरक्षा चाहिँ त्यसले गराउन सक्दैन । किनभने, हामीसँग सडक र सवारीसाधन नै कमजोर छन् ।

सचेतनाका लागि संयन्त्र

अहिले ट्राफिक प्रहरीले चाहिनेभन्दा बढी काम गरिरहेको छ । उसको काम कारबाही गर्ने मात्रै हो । तर, सचेतनाको काम पनि ट्राफिक प्रहरीले गर्दै आएको छ । सरकारले ट्राफिक सचेतनाका लागि छुट्टै संयन्त्र बनाउनु आवश्यक छ ।

३ करोड जनसङ्ख्यालाई ट्राफिक सचेतना दिने भन्ने विषय सानो विषय होइन । अनि, प्रविधिमैत्री पनि हुनुपर्‍यो । त्यहाँ त ट्राफिक लाइट पूर्ण रूपमा स्वचालित हुने हो भने, कन्ट्रोल रुमबाट हेरेर ट्राफिक व्यवस्थापन गर्न सकिन्छ । प्रविधिले गल्ती औँल्याएर गर्ने कारबाही इफेक्टिभ र जनताले पत्याउने खाले पनि हुन्छ ।

हाम्रोमा सडक सुरक्षा हेर्ने डेडिकेटेड निकाय नै भएन । यातायात व्यवस्था विभागले नवीकरण गर्ने, प्रदूषण चेक गर्ने र लाइसेन्स दिने काम मात्रै गर्छ । सडक सुरक्षा सिस्टमको कुरा हो ।

दुर्घटना न्यूनीकरण गर्न इन्स्टिच्युसनल ब्याकअप चाहिन्छ । चौबिसै घण्टा सडक सुरक्षा हेर्ने निकाय आवश्यक छ । त्यो भनेको सडक सुरक्षा परिषद् हो । अब, यसको ऐन पनि अहिले ड्राफ्ट भएको छ तर, मन्त्रालयमा थन्केर बसेको छ । पास हुन सकेको छैन ।

प्रतिनिधिसभामा २७५ जना सांसद छन्, उनीहरूलाई केही चासो छैन । उनीहरूलाई अहिले यो ऐन कहाँ छ पनि थाहा छैन । हरेक दिन मान्छे मरेको थाहा छ, सांसदहरू श्रद्धाञ्जली दिन जान्छन् तर, जवाफदेहिता छैन ।

सडक दुर्घटनालाई राज्यले महत्त्व दिएको छैन । सुधारको आवश्यकता छ । दुर्घटनामा परेर घाइते भएकाहरू र उनीहरूको परिवारको स्थिति झन् दर्दनाक छ । त्यसको सामाजिक भ्यालु, त्यसको आर्थिक पाटो त सोच्नसाध्य छैन । घाइतेहरूको व्यवस्थापनको पाटो त हामीले हेरेकै छैनौँ । कहालीलाग्दो छ ।

काठमाडौँ भ्यालीमै धेरै दुर्घटना हुन्छ । राजधानीको सडकमा हरेक दिन यात्रु र पैदलयात्रीले ज्यान गुमाउँछन् । अब हेर्नु न, जेब्रा क्रसिङ ओरालोमा लगेर राखिएको छ । स्पिडमा आएको गाडी त ओरालोमा रोकिनै सक्दैन । अनि, मोडहरू हेर्नुस्, जहाँबाट पनि छिर्ने ठाउँहरू छन् । राजधानीमा ट्राफिक लाइट बल्दैन । जताबाट पनि बाटो काट्न मिल्छ, कारबाही छैन, जनचेतना छैन । हिँड्नलाई चाहिँ व्यवस्थित फुटपाथ छैन । साइकल चलाउन साइकल लेन सुरक्षित छैन । त्यसै भएर दुर्घटना बढेको छ ।

(सडक सुरक्षा सम्बन्धी जानकार गजुरेलसँग खबरग्रामले गरेको कुराकानीमा आधारित)