काठमाडौं । धादिङमा भएको बस दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ । घटनाबारे छानिबन गर्न सहसचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले खबरग्रामलाई बताए । उनले भने, ‘संयोजक र सदस्यहरुको नाम टुंगो लाग्न बाँकी छ ।’
सोमबार बहिान पोखाराबाट आउँदै गरेको ग.२ ख १४२१ नम्बरको यात्रुबाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित भैंसीगौडामा दुर्घटना भएको थियो । दुर्घटनामा परेर १९ जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
दुर्घटनामा परेर २५ जना घाइते भएका छन् । घटनाबारे छानबिन कार्यदल गठन गर्नुअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सरोकारवालाहरुसँग छलफल गरेका थिए । बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख र गृह मन्त्रालयका सचिव सहभागी थिए ।






