न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।
परिषद्को बैठकले आगामी १८ चैतदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी १८ चैतमा अवकाश हुँदैछन् ।
न्यायपरिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा। मनोजकुमार शर्मा, डा। नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू प्रधानन्यायाधीशका लागि योग्य हुन्छन् ।
प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिना पहिले नै नाम सिफारिस गर्ने अभ्यास छ । तीन वर्ष अवधि पुगेका सबै न्यायाधीशहरूको नाम सिफारिस गरेपनि संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने अभ्यास छ ।




