काठमाडौं । जेनजी आन्दोलन हुँदा काठमाडौंको सिडीओ रहेका छबि रिजाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सुविधानगरबाट पक्राउ गरिएको उपत्यका अपाराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले खबरग्रामलाई बताए ।
जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौंका तत्कालिन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो । भदौ २३ र २४ मा प्रदर्शन हुँदा उनी काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।
बानेश्वरमा किशोरहरुको ज्यान जानेगरी गोली चलाउन आदेश दिएको भनेर रिजालको तिब्र आलोचना भइरहेको छ । तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगमा रिजालले आफुले घातक हतियारबाट गोली प्रहार गर्ने आदेश नगरेको बयान दिएका छन् । कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखक यसअघि नै पक्राउ गरेका थिए ।





