काठमाडौं । अख्तियारमा कार्यरत डीआईजी हिमालय कुमार श्रेष्ठको सरुवा रोकिएको छ । अबधि नपुगेको भन्दै उनको सरुवा ‘थमौति’ गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले खबरग्रामलाई बताए ।
भर्खरै बढुवा भएका डीआईजी ओम बहादुर रानालाई उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ । यसअघि रानालाई अख्तियारमा पदस्थापन गरेर श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको पत्र बाहिरिएको थियो । प्रहरी प्रवक्ता (एसएसपी) रमेश थापाले श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुख्य कार्यालय टंगाल र रानालाई रानिपोखरीमा कामकाज गर्नेगरी खटाउने निर्णय गरिएको जानकारी दिए ।
श्रेष्ठ ६ महिनादेखी अख्तियारमा कार्यरत छन् । बढुवा समितिको सिफारिसको आधारमा जेठ १३ मा राना सहित ११ जनालाई गृहमन्त्री रमेश लेखकले डीआईजीमा बढुवा गर्ने निर्णय गरेका थिए ।
हिमालय कुमार श्रेष्ठलाई रानीपोखरीमा सरुवा गरेपछि भिटिज भिषा प्रकरणमा अनुसन्धान गरिरहेको अवस्थामा सरुवा गरिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो । आलोचना बढेपछि गृहमन्त्री रमेश लेखकले पुनः अर्को निर्णय गरेर श्रेष्ठलाई थमौती गरेका हुन् । तर, प्रहरी उच्च स्रोतका अनुसार श्रेष्ठले अख्तियारबाट बाहिरिने इच्छा यसअघि नै व्यक्त गरेका थिए ।
उनको चाहअनुसार सरुवा गरिएपनि गलत अर्थ लाग्ने देखेर मन्त्री लेखक हच्किएको जानकारहरु बताउँछन् । अख्तियार उच्च स्रोतका अनुसार सहसचिव तिर्थराज भट्टराई जोडिएको भिजिट भिषा प्रकरणको अनुसन्धानमा डीआईजी श्रेष्ठ संलग्न छैनन् ।






Leave a Reply