११ करोड ठग्नेको डेरामा बास !

श्रीमान पक्राउ, श्रीमती फरार

काठमाडौं । काठमाडौंको नरेफाँटबाट जेठ २५ मा लक्ष्मण पराजुली र अरुणराज शर्मा पक्राउ परे । उनिहरु बिरुद्धको आरोप थियो, ‘युके पठाउँछौं भनेर ११ करोड ठगी गरेको ।’

मोरङको रतुवामाई नगरपालिका–१० घर भएर कपन स्थित सरस्वतीनगर बस्दै आएका ४४ वर्षीय लक्ष्मण पराजुली ‘आइइएलटिएस’ पढाउने शिक्षक पनि हुन. । पराजुली दम्पतीले चावहिलमा विदेश जानेहरुका लागी अध्यापन गर्ने ‘इएलटि सेन्टर’ सञ्चालन गर्दै आएका छन् । तर, त्यहि इएलटि सेन्टरमा ‘आइइएलटिएस’ पढ्न आएकाहरुलाई वर्किङ र पर्मानेन्ट भिषा लगाएर बेलायत पठाउँछौं भन्दै रकम ठगेको आरोपमा लक्ष्मण पक्राउ परे । पत्नी सम्झना पौडेल त्यहि कसुरमा पराजुली फरार छिन् ।

लक्ष्मणसँगै पक्राउ परेका ४७ वर्षीय अरुणराज शर्मा धनुषाको सवैला नगरपालिका–१२ का स्थानिय हुन् । काठमाडौं–३२ नरेफाँट स्थित शर्माको डेरामा लुकेर बसेको अवस्थामा दुवैजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले खबरग्रामलाई बताए ।

बेलायत सपना देखाएर उनिहरुले ११ करोड ६ लाख ९७ हजार ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । ३८ जना पीडितहरुले वैदेशिक रोजगार उनिहरु बिरुद्ध उजुर गरेका छन् । आरोपीहरुले प्रतिव्यक्ति ३५ देखी ४० लाख रुपैयाँ असुलेको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृत भन्छन्, ‘उनिहरुले २० देखी ३० वर्षका युवायुवतीलाई टार्गेट गरेर रकम असुलेको देखिन्छ ।’

ठगीनेहरु अधिकांश स्नातक पास गर्नेहरु छन् । अरुणराज शर्माचाहिँ कन्सल्टेन्सीमा काम गर्छन् । उनले प्रहरीसँग भनेका छन्, ‘इन्स्टिच्युट फर मेडिकल स्टडिज’ मा काम गर्छु ।’

करोडौं ठगीमा संलग्न आरोपीहरु डेरामा बस्ने गरेको प्रहरी अधिकृतहरु बताउँछन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘पराजुली दम्पती कपनमा र शर्मा नरेफाँटमा सामान्य डेरामा बसेको देखिएको छ ।’

विद्यार्थीहरुसँग असुलेको रकम उनिहरुले भारतिय एजेन्टलाई बुझाएको बयान दिएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘आरोपीहरुको जिवनशैली हेर्दा ठगेको रकम भारतियहरुले लगेको हाम्रो आशंका छ ।’

पराजुलीले आफुले उठाएको रकम ‘करिअर टेक कन्सल्टेन्सी’मा बुझाएको अनुसन्धान अधिकृतहरुलाई बताएका छन् ।

पराजुली र शर्मासँग जोडिएका अर्का एकजना भारतिय नागरिक छन् । ठग्ने गिरोहमा संलग्न भारतिय नागरिक राहुल पुञ्ज यसअघि पक्राउ परेका थिए । आफुले एमबिबिएस अध्ययन गरेको दावी गर्ने पुञ्ज धरौटीमा छुटिसकेका छन् । नेपालबाट बेलायत जान चाहनेहरुलाई भारतबाट ‘प्रोसेसिङ’ गर्ने शर्तमा रकम लिने गरेको आरोपीहरुले अनुसन्धान अधिकृतहरुसँग बताएका छन् ।

पराजुलीले सञ्चालन गरेको ‘इएलटि सेन्टर’मा लेखापालको रुपमा कार्यरत कविता तिमल्सिनालाई यसअघि प्रहरीले पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाएको थियो । वैदेशिक रोजगार न्यायाधिकरणले तिमल्सिनालाई पुर्पक्षको लागी थुनामा राख्न आदेश गरेको छ ।

वैदशिक रोजगार विभागले पराजुली र शर्माको गिरोहसँगबाट जरिवाना र बिगो सहित १६ करोड ६० लाख असुल गर्नुपर्ने मागदावी लिएको छ । तर, असुलेको रकम भारतियलाई बुझाएको भन्दै उनिहरु पन्छिएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्, ‘आरोपीहरुको अवस्था हेर्दा रकम फिर्ता गर्नसक्ने अवस्था देखिँदैन् ।’