काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार भएको भेटवार्ताको नोंकझोक र अमेरिकाले देखाएको व्यवहारपछि विश्व राजनीति तरंगित भएको छ । ह्वाइट हाउसमा भएको वार्ताका क्रममा जेलेन्स्कीलाई ट्रम्पले गरेको व्यवहारका कारण पुरै युरोप असन्तुष्ट बनेको छ ।
रुस–युक्रेन युद्ध अन्त्यका लागि यी दुई शीर्ष नेताबीचको भेटलाई लिएर निकै चासोका रुपमा हेरिएको थियो । कतिपयले यसलाई युद्ध अन्त्यको निकास निस्किने निकाल्ने प्रस्थान भेट हुनसक्ने आँकलन पनि गरेका थिए । तर वार्ताका ठ्याक्कै त्यसको उल्टो मात्रै भएन, सामान्य कुटनीतिक व्यवहार पनि प्रकट भएन ।
ट्रम्पले जेलेन्स्कीलाई कि सम्झौता गर्नुस् नत्र छाडिदिनुस् भन्ने धम्कीपूर्ण प्रस्तावपछि विश्वभर यो वार्ताबारे बहस भइरहेको छ ।खनिज सम्झौता हुने भनिए पनि वार्ताले चर्को रुप लिएपछि अब रुस–युक्रेनबीचको संघर्षले अन्त्य पाउने आशा कम हुँदै गएको छ ।
भेटअघि ट्रम्पले जेलेन्स्की अमेरिकासँग एक ठूलो सम्झौता गर्नका लागि अमेरिका आउने बताएका थिए ।
ट्रम्प र जेलेन्स्कीबीच वार्तापछि विश्वभरबाट प्रतिक्रिया आउन सुरु भएको छ । केही युरोपेली नेताहरूले यसको समर्थन गरेका छन् भने केही अमेरिकी सांसदले नै ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई दोषी बताएका छन् ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डर लियनले युक्रेनलाई समर्थन गर्दै समाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘तपाईंको गरिमाले युक्रेनी जनताको बहादुरीलाई सम्मान गर्दछ । साहसी हुनुहोस्, निडर हुनुहोस् ।’
यस्तै युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले पनि स्वतन्त्र संसारलाई नयाँ नेता चाहिने स्पष्ट पारेको बताएकी छन् । उनले युक्रेन युरोपको रहेको र आफूहरु युक्रेनको पक्षमा रहेको उल्लेख गरेकी छन् । ‘हामी युक्रेनलाई हाम्रो समर्थन बढाउनेछौं । ताकि उनीहरू आक्रमणकारीको विरुद्धमा लड्न जारी राखुन् । आज यो स्पष्ट भयो कि स्वतन्त्र संसारलाई नयाँ नेता चाहिन्छ । यो चुनौती लिने हामी युरोपेलीमा निर्भर छ ।’
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले रुसले अवैध र अनुचित तरिकाले युक्रेनमाथि आक्रमण गरेको बताएका छन् । उनले एक्समा लेखेका छन्, ‘तीन वर्षदेखि युक्रेन आफ्नो साहसमा जवाफि कारबाहीका साथ सामना गरिरहेको छ । उनको लडाइँ लोकतन्त्र, स्वतन्त्रता र सम्प्रभुत्ताको लागि हो । यो लडाइँ सबका लागि अर्थपूर्ण छ ।’ क्यानडाले युक्रेनमाथि आफ्नो समर्थन जारी राख्ने उनको भनाइ छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पनि रुसले युक्रेन र युक्रेनी जनतामाथि हमला गरेको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ । ‘हामीले ती मानिसहरुको सम्मान गर्नुपर्छ जो सुरुदेखि नै लडिरहेका छन्,’ उनले भनेका छन् । तीन वर्षअघि सुरु भएको आक्रमणका क्रममा युक्रेनको सहयोग गरेर सही काम गरेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने उनको भनाइ छ । ‘हामी अमेरिका, युरोपेली देश, क्यानडाका नागरिक र जापानी सबै युक्रेनको सहयोगी हौं ।’
जर्मन चान्सलर ओलाफ स्कोल्जले युक्रेन जर्मनी र युरोपको भर पर्न सक्ने बताएका छन् । युक्रेनी नागरिकहरूले शान्तिबाहेक अरु केही नचाहेको भन्दै उनले आफूहरु संयुक्त रुपमा दिगो र न्यायपूर्ण शान्तिको पक्षमा रहेको बताए । जर्मन चान्सलर बन्दै गरेका फ्रेडरिक मेर्जको पार्टीका शीर्ष विधायक जोहान वाडेफुलले पनि युक्रेनको समर्थन गरेका छन् । उनले शुक्रबार ह्वाइट हाउसमा भएका दृश्यहरु स्तब्ध हुने खालका भएको बताए । ‘तपाईं कसरी आक्रमण गरिएको देशको राष्ट्रपतिलाई यसरी पिठ्यूँमा छुरा हान्न सक्नुहुन्छ । स्वतन्त्र युरोपले युक्रेनलाई धोका दिने छैन,’ ट्रम्पलाई प्रश्न गर्दै उनले एक्समा लेखेका छन् ।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले पनि युक्रेनको साथमा रहेको बताएका छन् । उनले एक्समा लेखेका छन्, ‘युक्रेनी साथीहरू हो, तपाईं एक्लो हुनुहुन्न ।’ स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि स्पेन युक्रेनको साथमा रहेको बताएका छन् । नर्वेका प्रधानमन्त्रो जोनास गर स्टोरले भनेका छन्, ‘हामी यो संघर्षमा युक्रेन र स्थापित शान्तिको पक्षमा छौं ।’
आयरल्यान्डका उपप्रधानमन्त्री सिमोन ह्यारिसले युक्रेनलाई रुसी अवैध आक्रमणका लागि दोषी मान्न नसकिने बताएका छन् । ‘युक्रेनलाई यस युद्धका लागि दोषी मान्न सकिँदैन । हामी युक्रेनको साथमा छौं’, उनको भनाइ छ ।
यस्तै बेलायती प्रधानमन्त्री कियर स्टार्मरले ट्रम्प र जेलेन्स्कीसँग कुरा गरेका छन् । प्रधानमनमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रीट प्रवक्ताले भनेका छन्, ‘युक्रेनलाई उहाँको समर्थन जारी छ । युक्रेनको सम्प्रभुत्ता र सुरक्षालाई ध्यानमा राख्दै शान्तिको बाटो खोज्न उहाँले कोसिस गरिरहनुभएको छ ।’
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अमेरिका र युरोपेली नेताहरूबीचको बैठकलाई उनीहरूको बन्धनलाई पुनस् पुष्टि गर्न प्रस्ताव गरिन् । ‘अमेरिका, युरोपेली राज्यहरू र उनीहरूका सहयोगीहरूबीच विलम्ब नगरी शिखर सम्मेलन आवश्यक छ कि हामी कसरी युक्रेनबाट सुरू गरी आजका प्रमुख चुनौतीहरूको सामना गर्न चाहन्छौं, जुन हालका वर्षहरूमा हामीले सँगै रक्षा गरेका छौं,’ उनको भनाइ छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजीले पनि एक विज्ञप्ति जारी गर्दै युक्रेनको समर्थन गरेका छन् । एक प्रजातान्त्रिक राष्ट्रविरुद्ध भ्लादिमिर पुटिनको नेतृत्वमा अधिनायकवादी शासनको संघर्ष रहेको उनको भनाइ छ । उनले भनेका छन्, ‘जसको स्पष्ट रुपमा साम्राज्यवादी डिजाइनहरु छन् । यो युक्रेनमा मात्र नभइ त्यो क्षेत्रभरी छ ।’
अमेरिकी नेताहरुको पनि प्रतिक्रिया आउन थालेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सीएनएनसँगको एक अन्तर्वार्तामा ट्रम्प र जेलेन्स्कीबीचको बहसलाई असफल भन्दै जेलेन्स्कीले माफी माग्नुपर्ने बताएका छन् । उनले भने, ‘जेलेन्स्कीलाई त्यहाँ गएर यस प्रकारको विरोध जनाउनु आवश्यक थिएन ।’
डेमोक्रेटिक सांसद चक सुमरले ट्रम्प र भान्सले फोहोरी काम गरेको बताएका छन् । उनले एक्समा लेखेका छन्, ‘ट्रम्प र भान्स फोहोरी काम गरिहेका छन् । सिनेट डेमोक्रेट्स स्वतन्त्रता र लोकतन्त्रका लागि लड्न कहिले रोकिने छैन ।’
यस्तै रिपब्लिकन सांसद डन बेकनले अमेरिकी विदेश नीतिका लागि एक खराब दिन रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘अमेरिकी विदेश नीतिका लागि एक खराब दिन रह्यो । युक्रेन स्वतन्त्रता, स्वतन्त्र बजार र कानुनी राज चाहन्छ । ऊ पश्चिमको हिस्सा बन्न चाहन्छ । रुस हामी र हाम्रो पश्चिमी मूल्यमाथि घृणा गर्छ । हामी स्वतन्त्रताको पक्षमा उभिएका छौं भनेर स्पष्ट पार्न जरुरी छ ।’
खनिज सम्झौतामा कुराकानीका क्रममा जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनतर्फ इंगित गर्दै आफ्नो जमिनमा आएको हत्यारासँग सम्झौता नगर्न अनुरोध गरेका थिए । तर ट्रम्पले कुनै पनि संघर्षको सम्भावित विरामका लागि युक्रेनलाई थोरै झुक्न आवश्यक भएको बताएका थिए । उनले भने, ‘तपाईंलाई त्यति धेरै झुक्न पनि आवश्यक पर्दैन । जति मानिसहरु सोचिरहेका छन् ।’
रुस युक्रेन सम्भावित कुराकानीलाई लिएर ट्रम्पले आफू बीचमा रहेको र युक्रेन र रुसका लागि पनि आफू रहेको बताएका थिए । उनले भने, ‘यो युद्ध अन्त्य भएको देख्न चाहन्छु ।’ शान्ति सम्झौताका लागि अमेरिका निष्पक्ष हुन आवश्यक रहेको पनि ट्रम्पको भनाइ थियो ।
बहस चर्को त्यसबेला भयो जब ट्रम्पले जेलेन्स्कीलाई अमेरिकी सहयोगका लागि आभारी हुनुपर्ने बताए । यसका साथै जेलेन्स्की तेस्रो विश्वयुद्धका लागि जोखिम लिइरहेको बताएपछि बहसले अर्को रुप लिएको थियो । ट्रम्पले भने, ‘तपाईं करोडौं मानिसको जीवनमाथि खेलिरहनुभएको छ । तेस्रो विश्वयुद्धको जोखिम लिइरहनुभएको छ । र तपाईं जे गरिरहनुभएको छ त्यो यो देशका लागि निकै ठूलो अपमान हो ।’
यस्तै ट्रम्प र उपराष्ट्रपति भान्स दुवै जनाले जेलेन्स्कीमाथि दबाबसहित बहस गर्न थाले । तब जेलेन्स्कीले भने, ‘चर्को बोल्न बन्द गर्नुहोस् ।’ उनले ‘युद्ध अन्त्यका लागि कुटनीति आवश्यक भएको बताएका थिए । उनले भनेका थिए, ुतपाइँ ओभल अफिसको अपमान गरिरहनुभएको छ । जसकारण तनाव अझ बढेको छ ।’
(एजेन्सीहरुको सहयोगमा)






Leave a Reply