राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा प्राडा विकाश गौचन

काठमाडौं– राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा प्राडा विकास गौचन निर्वाचित भएका छन् । चितवनमा शनिबार सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट प्राडा गौचनको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरिएको हो ।

संघको उपाध्यक्षमा डा. मिलन गैह्रे, डा. महेश महासेठ र डा. चण्डिका पण्डित निर्वाचित भएका छन् । यस्तै महासचिवमा डा सम्राट पराजुली निर्वाचित भएका छन् ।
सचिवमा डा. अरुण उप्रेती, डा. अमन न्यौपाने, डा. आधिराज आचार्य र डा. वर्षा थापा रहेका छन् ।

४१ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ९ जना पदाधिकारी हुन् भने बाँकी ३२ जना केन्द्रीय सदस्यहरु हुन् ।

नयाँ कार्यसमितिको कार्यकाल तीन वर्षको रहने बताइएको छ ।

२०४० सालमा मुस्ताङको लेतेमा जन्मेका विकास गौचन गण्डकी प्रदेशको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशक पदमा विगत ४ वर्षदेखि कार्यरत छन् । डा गौचनले जीवनको महत्वपूर्ण एक दशक सुदूर पहाडको अछाम जिल्लामा स्वास्थ्य सेवा दिएका थिए ।

२०६४ सालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस सकाएर डाक्टर गौचन अछाम पुगेर बयालपाटा अस्पतालमा यस क्षेत्रका नागरिकलाई सेवा दिन सुरु गरेका थिए। बयालपाटामा रहदाँका बखत नै २०७१ श्रावणमा डाक्टर गौचनले एमडीजीपी पूरा गरेका थिए।