प्रहरीमा ११ एसएसपी पद रिक्त, ‘हाम्रा’लाई छान्ने कि राम्रा ल्याउने ?

काठमाडौं । प्रहरीको जनपद समुहतर्फ ११ जना बरिष्ठ उपरिक्षक (एसएसपी)को पद रिक्त भएको छ । सो सिटमा बढुवा हुन योग्यता पुगेका ३३ जना अधिकृतहरु अहिले बढुवाको दौडमा छन् ।

बढुवा प्रतिस्पर्धामा तिन प्रकारका अधिकृतहरु छन् । राष्ट्रिय अनुसन्धानबाट आएका, २०५६ मा प्रहरी सेवामा प्रवेश गरेका र २०५८ मा भर्ना भएकाहरु प्रतिस्पर्धामा छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका तिनजना छन् । उनिहरु हुन्, बिमल बस्नेत, केदार खनाल र राम प्रकाश शाह ।

२०५६ मा सेवा प्रवेश गरेका ३ जना छन् । उनिहरु हुन्, तुल बहादुर कार्की, राजिब बहादुर बस्नेत र राकेश सिंह । उनिहरुबाहेक २०५८ साउन १८ मा इन्स्पेक्टरमा नाम निकालेर फरक मितिमा बढुवा हुँदै आएका अधिकृतहरु एसएसपी हुँदैछन् ।

२०५८ साउन १८ मा सेवा प्रवेश गरेका प्रकाश रानाभाट, कमल थापा, दिपक पोखरेल, ज्ञानेन्द्र फुयाँल, दिपेन्द्र शाही, प्रविण धिताल, दयानिधि ज्ञवाली, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, अमरेन्द्र बहादुर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम बहादुर विष्ट, सुवास चन्द्र बोहरा, बासुदेव खतिवडा, प्रजित केसी, राज कुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र कुमार श्रेष्ठ, दिलिप घिमिरे र बीरेन्द्र बहादुर शाही एसएसपीको प्रतिस्पर्धी हुन् ।

उनिहरुसँगै भर्ना भएका तर, उनिहरुभन्दा पछि प्रहरी उपरिक्षकमा बढुवा भएका चक्रराज जोशी, अर्जुन तिमिल्सिना, रमेश पण्डित र जनक शाही लगायतका अधिकृतहरु पनि प्रतिस्पर्धामा छन् । अधिकृतहरु सत्ताधारी पार्टी कांग्रेस र एमालेका सांसदहरुमार्फत लबिङ गरिरहेका छन् ।

२०८१ पुस २९ मा २५ जना एसएसपी बढुवा हुँदा अहिले प्रतिस्पर्धा गर्नेहरुसँगै सेवा प्रवेश गरेकाहरु मध्येबाट पनि बढुवा भएका थिए । त्यसबेला २०५८ मा सेवा प्रवेश गरेका र दोस्रो लटमा एसपी भएकाहरुसम्म एसएसपीको सुचिमा अटाए । त्यतिबेला गृहमन्त्री रमेश लेखक, तत्कालिन आईजीपी बसन्त कुँवर र गृहसचिव गोकर्णमणि दुवाडीका आ–आफ्नै उम्मेद्वार थिए । गएको पुसमा गृहमन्त्री रमेश लेखकले पदम बहादर विष्ट, चक्रराज जोशी र श्याम सिंह चौधरीलाई बढुवा गर्ने प्रयास गरेका थिए । तर, आफ्नो ब्याचमा पछिल्लो लटमा बढुवा भएका कारण उनिहरु छुटे । त्यसबेलाका आईजीपी बसन्त कुँवरले भुवनेश्वर तिवारी र ऋषिराम कँडेललाई प्रमोशन गर्ने प्रयास गरेपनि सफल भएनन् ।

प्रहरीमा शक्तिकेन्द्र निकट हुनेहरु र ‘काविल’ अफिसरको बिचमा सँधै बढुवा प्रतिस्पर्धा हुँदै आएको छ । गृह मन्त्रालयका अधिकृतहरु सो प्रतिस्पर्धालाई ‘हाम्रा’ र ‘राम्रा’ बिचको प्रतिस्पर्धा भन्छन् । शक्तिकेन्द्रले रुचाउँदा प्रहरी संगठनमा कमजोर कार्यक्षमता र ‘भ्रष्ट’ आचरण भएकाहरु पनि बढुवामा माथि आउने गरेका छन् ।

अहिले बढुवा प्रतिस्पर्धामा रहेकाहरु मध्येमा केही ‘विवादित’ पात्रहरु छन् । २०७७ मा अनियमितताको आरोपमा निलम्बनमा परेका विमल बस्नेतलाई प्रधान कार्यालयले ५ वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको थियो । सो समय सिमा अझै पुरा भएको छ्रैन् । उनि २०५३ पुस ५ मा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरेर प्रहरीमा आएका हुन् ।

धनुषाको प्रहरी प्रमुख हुँदा प्रकाश रानाभाटले लागुऔषध खैरो हेरोइन सहित पक्राउ परेका आरोपीको मुचुल्का परिवर्तन गराएको आरोप छ । त्यतिबेला अख्तियारका एकजना आयुक्तको दबावमा तत्कालिन आईजीपी बसन्त कुँवरले उनलाई कारबाही गरेनन् । मुचुल्का परिवर्तन गरेको फाइल हाल महान्यायाधिवक्ताको कार्यालयमा बिचाराधिन छ ।

प्रहरी उपरिक्षक राजिब बहादुर बस्नेत बिरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा फौजदारी कसुरमा जाहेरी नै दर्ता भएको छ । बस्नेत जिल्ला प्रहरी कार्यालय खोटाङको प्रहरी प्रमुख हुँदा भागेका थुनुवा पक्राउ गर्न गएका प्रहरीले निर्घात कुटपिट गर्दा थुनुवााको मृत्यु भएको थियो । थुनुवाको मृत्यु भएपछि पीडितको परिवारले जाहेरी लिएर आए । बस्नेतभन्दा पछि गएका डीएसपीले उनलाई समेत आरोपी किटान गरिएको जाहेरी दर्ता गरेका थिए । सो मुद्दाको टुंगो लागेको छ्रैन् । अर्को घटनामा मृत्यु नभएका मानिसको हत्या भएको भनेर आरोपी पक्राउ गरे । तर, केही महिनापछि मृत्यु भएका भनिएका व्यक्ति फर्केर आएको घटना प्रहरीमा चर्चित छ । सो घटनामा बस्नेतले ‘लापरवाही’ गरेको प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ ।

बढुवामा शक्तिकेन्द्र निकट भनेर चिनिएका ‘हाम्रा’ लाई छान्ने वा राम्रालाई ल्याउने भन्नेबारे लबिङ भइरहेको छ । गृह मन्त्रालयका एकजना उच्च अधिकृत भन्छन्, ‘एकै समुहमा सेवा प्रवेश गरेकाहरु मध्ये काबिलहरुलाई ल्याउँदा काम गर्नेहरुको मनोबल उच्च हुन्छ र प्रहरी व्यवसायिक बन्छ ।’