यातायात व्यवस्था कार्यालय भरतपुरमा अख्तियारको छापा, दुईजना पक्राउ

काठमाडौं । अख्तियारले यातायात व्यवस्था कार्यालय चितवनमा छापा मारेको छ । छापा मारेर कार्यालय सहायक (पाँचौ) इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता (सहसचिव) राजेन्द्र पौडेलले खबरग्रामलाई बताए ।

यातायात व्यवस्था कार्यालयका प्रमुख एवं कर्मचारीसँग मिलेर महालक्ष्मी ड्राइभिङ सेन्टर, गुरुङ ड्राइभिङ सेन्टर र कुमार ड्राइभिङ सेन्टरले लाइसेन्सको परिक्षामा फेल भएकाहरुसँग रकम असुल्ने गरेको आरोप छ । ट्रायल परिक्षामा फेल भएकाहरुलाई १५ देखी २५ हजार लिएर पास गराएर रकम असुल्ने गरेको उजुरीको आधारमा अनुसन्धान थालिएको सहसचिव पौडेलले जानकारी दिए ।

कार्यालय सहायक गुरुङको कार्यकक्षबाट आयोगको टोलीले १ लाख ८५ हजार नगद बरामद गरेको छ । कार्यालय प्रमुख विष्णु भट्टराई र अन्य कर्मचारीहरु समेतको ३१ थान मोबाइल आयोगको टोलीले नियन्त्रणमा लिएको छ । कार्यालयबाट अन्य कागजात पनि अनुसन्धानको लागी नियन्त्रणमा लिइएको सहसचिव पौडेलले बताए ।