दुर्गा प्रसाईंले साढे २७ करोड ‘राउण्ड ट्रिपिङ्ग’ गराए, ७ अर्ब २५ करोड ऋण

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एउटा प्रयोजनका लागी बैंक तथा बित्तिय संस्थाबाट ऋण लिएर अन्य प्रयोजनको लागी दुरुपयोग गर्ने गरेको भेटिएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

अहिलेसम्मको अनुसन्धानबाट प्रसाईंले ३ वटा कम्पनीको नाममा लिएको साढे २७ करोड रुपैयाँ जटिल कारोबार मार्फत ‘राउण्ड ट्रिपिङ्ग’ गराएको सीर्आबीको अनुसन्धान निष्कर्ष छ । पूर्वाञ्चल क्यान्सर अस्पताल, होटल एट्रिअम प्रालि र युए मेडिको सप्लाईज एण्ड इक्विपमेन्ट प्रालिको नाममा प्रवाह भएको कर्जा उनले दुरुपयोग गरेका हुन् ।


कर्जा जुन प्रयोजनको लागी लिएको हो सो प्रयोजनमा प्रयोग नगरी अन्यत्र उपयोग गरेर दुरुपयोग गरेको सीआईबीका एआईजी चन्द्र कुवेर खापुङले खबरग्रामलाई बताए । उनले भने, ‘बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेका छौं ।’

प्रसाईंले गुडविल फाइनान्स, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकबाट लिएको साढे २७ करोड रुपैयाँ फरक प्रयोजन र अरु बैंकको कर्जा चुक्ता गर्न प्रयोग गरेका हुन् । तत्कालिन एनसिसि बैंक (अहिले कुमारी)बाट पूर्वाञ्चल क्यान्सर अस्पतालको नाममा १२ करोड ५० लाख, इन्भेष्टमेन्ट मेगा बैंकबाट होटल एट्रिअमको नाममा ५ करोड र गुडविल फाइनान्सबाट युए मेडिकाको नाममा प्रवाह भएको १० करोड उनले राउण्ड ट्रिपिङ्ग गराएर शंकास्पद करोबार गरेका हुन् । राष्ट्रबैंक ऐन अनुसार कर्जा दुरुपयोग गरेर अन्यत्र घुमाउन वा फरक प्रसंगमा लिएको कर्जा तिर्ने काममा प्रयोग गर्न पाइँदैन् ।

कर्जा दुरुपयोग गरेको बारेमा सीआईबीले प्रसाईंसँग बयान लिएको छ । अनुसन्धान अधिकृतहरु र विशेष सरकारी वकिल कार्यालयका अधिकृतहरुले उनिसँग बयान लिएका हुन् । उनको बयान पुरा भैसकेको छ । बयानमा उनले रकम ‘राउण्ड ट्रिपिङ्ग’ गराएको स्विकारेका छन् । उनले भनेका छन्, ‘एउटा बैंकबाट लिएको रकम अर्कोको कर्जा चुक्ता गर्ने र पार्टीलाई भुक्तानी दिन प्रयोग गरेको छ, त्यसमा लुकाउनुपर्ने विषय नै छैन् ।’

राष्ट्रबैंक ऐन अनुसार बैंकबाट लिएको कर्जा व्यवसायमा प्रयोग गरेर त्यसबाट प्राप्त आम्दानी कर्जा भुक्तानीमा प्रयोग गर्नुपर्छ । तर, प्रसाईंले ठुलो रकम पेश्किको रुपमा लिएर आफु र आफन्तको नाममा रहेको कम्पनीहरुलाई सो रकम प्रदान गरेको भेटिएको छ ।

प्रसाईं र निजका आफन्तहरु संलग्न ३१ वटा कम्पनीहरुले २०८१ असोज मशान्तसम्ममा ५ वटा बैंकलाई ७ अर्ब २५ करोड ८७ लाख बक्यौता भुक्तानी गर्न बाँकी रहेको भेटिएको छ । ति कम्पनीहरुको अन्तिम हिताधिकारी दुर्गा प्रसाईं रहेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले खबरग्रामलाई बताए ।

उनले चार वर्षदेखी झापा स्थित बिएण्डसी मेडिकल कलेज टिचिङ अस्पताल एण्ड रिसर्च सेन्टर र पुर्वाञ्चल क्यान्सर अस्पताल प्रािलको नाममा प्रवाह भएको कर्जाको सावाँ ब्याज भुक्तानी नियमित गरेका छैनन् ।

जेठ दोस्रो साता मुद्दा दायर गरिँदै

प्रसाईं बिरुद्ध सीआईबीले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा–८ अनुसारको कर्जा दुरुपयोग गर्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ । उनिबिरुद्ध उच्च अदालत पाटनबाट पक्राउ पुर्जी जारी भएको छ । प्रसाईं अहिले राज्य बिरुद्धको कसुर, ज्यान सम्बन्धी कसुर र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा काठमाडौं प्रहरीको हिरासतमा छन् ।

उनिबिरुद्ध अनुसन्धान पुरा गरेर जेठ दोस्रो सातातिर अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । एआईजी खापुङ भन्छन्, ‘तीनकुने घटना र बैंकिङ कसुरको अनुसन्धान प्रतिवेदन करिब एकै समयमा जान्छ ।’

तीनकुने घटनाको थुनछेक पुरा भएपछि बैंकिङ कसुर मुद्दाको बयान र थुनछेक गराउने तयारी गरिएको छ । बैंकिङ कसुरको अभियोग पत्र विशेष सरकारी वकिल कार्यालय मार्फत उच्च पाटनमा दायर गरिन्छ ।