सुकेधारामा लैङ्गिक अल्पसंख्यकको हत्या गरेको आरोपमा बसका सहचालक पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–४ सुकेधारा स्थित धोविखोला करिडोरमा लैङ्गिक अल्पसंख्यकको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा घर भएका बिराज ठकुरी छन् । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ घर भएर काठमाडौं–७ बस्दै आएका अडविर राई फागुन १४ मा मध्यराती धोविखोला करिडोमा मृत भेटिएका थिए । उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘शंकास्पद एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’


प्रहरीले आरोपीको नाम सार्वजनिक गरेको छैन् । प्रयोगमा नआएको शौचालयमा राईको शव म्याट्रेस, सिरानी, झोला र फोहोरले छोपेर राखेको अवस्थामा फेला परेको थियो ।


पक्राउ परेका आरोपी चक्रपथमा चल्ने बसका सहचालक हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी प्रह्लाद कार्की नेतृत्वको टिमले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरी वृत महाराजगञ्जले अनुसन्धान गरिरहेको छ । राईको टाउको, निधार र नाकमा धारिलो हतियारको चोट देखिएको छ । आरोपीले ‘ढुंगाले हिर्काएर हत्या गरेको बयान दिएका छन् ।’