काठमाडौं । प्रहरी महानिरिक्षक बसन्त बहादुर कुँवर चैत ५ बाट अवकाशमा जाँदै छन् । २०७९ चैत १० मा आईजीपी नियुक्त भएका उनि ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाशमा जान लागेका हुन् । कुँवरले करिब दुई वर्ष ८९ हजार फौजको कमाण्ड गरेर बिदा हुन लागेका हुन् ।
कुँवरको अवकाश मिति नजिकिएसँगै नेपाल प्रहरीको ३१ औं आईजीपी को हुन्छ भन्नेबारे आम चासो छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले कुँवरलाई बरियताको आधारमा आईजीपी नियुक्त गरेको थियो । कुँवर बरियता सुचिएको १ नम्बरमा थिए ।
कुँवरसँगै प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) भएका टेकप्रसाद राई पनि अवकाशमा जाँदै छन् । श्यामलाल ज्ञवाली र किरण बज्राचार्यले अवकाश पाइसकेका छन् । अहिले बहालमा रहेका एआईजीहरु बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र प्रस्तावित एआईजी जनक भट्टराई पनि सँगै अवकाशमा जाँदै छन् ।
प्रहरीको ३१ औं आईजीपी बन्न तीनजना अतिरिक्त महानिरिक्षकहरु प्रतिस्पर्धामा छन् । प्रहरी अतिरिक्त महानिरीक्षकहरु दीपक थापा, सुदिप गिरी र टेक बहादुर तामाङ आईजीपीको प्रतिस्पर्धी हुन् । थापा केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख हुन् । गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तामाङ उपत्यका प्रहरी कार्यालयमा कार्यरत छन् ।
२०५२ भदै १९ मा प्रहरी सेवामा प्रवेश गरेका उनिहरुमध्ये दीपक थापा २०७९ चैत ६ मा बसन्त कुँवरसँगै एआईजीमा बढुवा भएका थिए । पछि कुँवर आईजीपी भए । सुदीप गिरी र टेकबहादुर तामाङ २०७९ चैत २४ मा एआईजीमा बढुवा भएका हुन् । उनिहरु १८ दिन ढिला बढुवा भएका थिए । बरिया सुचि अनुसार पहिलो नम्बरमा थापा, दोस्रोमा गिरी र तेस्रोमा तामाङ छन् । मन्त्रिपरिषद्ले मेरिट अनुसार नियुक्ती गरेमा थापा प्रहरी प्रमुख हुने संभावना उच्च छ ।
को कस्ता ?
प्रतिस्पर्धाको पहिलो नम्बरमा रहेको थापा फिल्ड कमाण्डमा अनुभवी मानिन्छन् । इन्स्पेक्टर हुँदा उनले बनेपा र गरुडाको कमाण्ड गरेका थिए । युद्धकालमा इलाका प्रहरी कार्यालय मैकोटमा बसेका थापाले डीएसपी भएर दुईवर्ष खोटाङ जिल्लाको कमाण्ड गरे । प्रधानमन्त्रीको व्यक्तिगत सुरक्षा अधिकृत भएर काम गरेका उनले प्रहरी वृत्त महाराजगञ्जको पनि कमाण्ड गरेका थिए ।
एसपीमा थापाले चितवन जिल्लाको कमाण्ड गरे । प्रहरी प्रधान कार्यालयभित्र महत्वपुर्ण मानिने कर्मचारी प्रशासन शाखा र आर्थिक प्रशासन महाशाखामा काम गरेका थापाले अपराध महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय) को कमाण्ड गरेका छन् । उनि २०७७ मा अपराध महाशाखाको प्रमुख भएका थिए ।
डीआईजीमा प्रबन्ध निर्देशनालय र बागमती प्रदेश प्रहरी कार्यालयको कमाण्ड गरेको अनुभव थापासँग छ । एआईजीमा उनले प्रशासन विभागको प्रमुख, उपत्यका प्रहरी कार्यालय रानिपोखरी र सीआईबीको कमाण्ड गरेका छन् ।
बरियताको दुई नम्बरमा रहेका गिरी सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश केदार गिरीका छोरा हुन् । कमाण्डो तालिम गरेका गिरीले डीएसपी हुँदा प्रहरी वृत्त कालिमाटीको कमाण्ड गरेका थिए ।
एसपी हुँदा गिरीले पर्सा र कैलालीको कमाण्ड गरे । एसएसपी भएपछि उनले जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड गरे । डीआईजीमा बढुवा भएसँगै कोशी प्रदेश प्रहरी कार्यालयको प्रमुख भएका गिरीसँग विशेष ब्यूरोमा लामो समय काम गरेको अनुभव छ ।
टेक बहादुर तामाङले इन्स्पेक्टर हुँदा गजुरी, सानेपा र लैनचौरमा बसेर काम गरेका थिए । डीएसपीमा उनले जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र खोटाङको कमाण्ड गरे । उनले प्रहरी वृत्त कालिमाटीको पनि कमाण्ड गरेका थिए ।
एसपीमा बढुवा भएपछि उनले जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड गरे । डीआईजीमा बढुवा भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखामा काम गरेका तामाङले एआईजीमा लामो सयम अपराध अनुसन्धान विभागमा बसेर काम गरे । हाल उनि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुख हुन् ।
आ–आफ्नै लबिइङ
आईजीपी हुन तिनैजना अधिकृतले तिब्र लबिइङ गरिरहेका छन् । भक्तपुरका स्थानिय दीपक थापाको उच्च तहका राजनीतिक नेतृत्वसँग राम्रो सम्बन्ध छ । बरियतामा पहिलो नम्बर र नेतृत्वसँगको सम्बन्धका कारण उनि आईजीपी हुने संभावना रहेको धेरैको आकलन छ ।
प्रतिस्पर्धामा रहेका सुदिप गिरी पुर्व प्रधान न्यायाधीशका छोरा हुन् । उनि नेपाली कांग्रेस निकट भनेर चिनिन्छन् । उनलाई आईजीपी बनाउन कांग्रेस नेताद्वय पुर्ण बहादु खड्का र बालकृष्ण खाणले लबिइङ गरेको चर्चा छ ।
अर्का प्रतिस्पर्धी टेक बहादुर तामाङले पनि झापाका नेताहरुमार्फत लबिइङ गरिरहेका छन् । झापाको दमक ससुराली भएका उनि पुर्वडीआईजी देवीलाल तामाङका ज्वाईं हुन् । अख्तियार प्रमुख प्रेम कुमार राईसँग निकट सम्बन्ध रहेका तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कन्भीन्स’ गर्ने प्रयासमा छन् । (रातोपाटीबाट)






Leave a Reply